गिरिजानन्द साह/जनकपुरधाम/असार ६ गते। यतायात व्यवस्था कार्यालय धनुषाको आयोजनामा ट्राफिक प्रहरी र स्थानीय तहको समन्वयमा यातायात सुरक्षा सम्बन्धी चेतनामूलक कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता कार्यालय प्रमुख धनञ्जय कुमार सिंहले गरेका थिए भने प्रमुख अतिथिका रूपमा श्रम तथा यातायात मन्त्री कौशल किशोर राय सहभागी थिए। विशिष्ट अतिथि मन्त्रालयका सचिव युवराज अधिकारी रहेका थिए।
कार्यक्रममा बोल्दै मन्त्री रायले सडक सुरक्षाको सुदृढीकरणका लागि सरकार गम्भीर रहेको बताउँदै यस्तो किसिमका जनचेतनामूलक कार्यक्रमले नागरिकमा ट्राफिक नियम पालना गर्ने बानी बसाल्ने विश्वास व्यक्त गरे। उनले प्रदेशमा बढ्दो सवारी दुर्घटनाको न्यूनीकरणका लागि सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी नरहरी रेग्मी, मधेश प्रदेश ट्राफिक प्रहरी प्रमुख डिआईजी उमा प्रसाद चतुर्वेदी, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर सूर्य बहादुर शाही लगायतले आ–आफ्नो धारणा राख्दै सडक सुरक्षा र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनमा जोड दिए।
कार्यक्रममा सहभागी वक्ताहरूले जनचेतनामूलक क्रियाकलाप, ट्राफिक अनुशासन, र सुरक्षित यात्राका उपायहरू बारे आफ्ना धारणा व्यक्त गरेका थिए।
सो अवसरमा नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साह, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, विद्यार्थी, पत्रकार, स्थानीय तहका प्रतिनिधि तथा यतायात व्यवस्था कार्यालयका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरुलाई सडक सुरक्षासम्बन्धी जानकारी दिइनुका साथै सुरक्षित सवारी साधन सञ्चालनका उपाय, नियम उल्लंघन गर्दा हुने कानुनी कारबाही र सचेत नागरिकको भूमिका बारेमा जानकारी दिइयो।
कार्यक्रमले स्थानीय तह र सरोकारवालाबीचको सहकार्यद्वारा ट्राफिक व्यवस्थापन सुधार र जनसाधारणमा सचेतना फैलाउने विश्वास लिइएको छ।





















Discussion about this post