जनकपुरधाम/असार २ गते। लाईफ नेपालको आयोजना र जनकपुरधाम उपमहानगरपालिकाको समन्वयमा मधेस प्रदेशको राजधानी जनकपुरधाममा बालविवाह, भागी विवाह तथा दाइजो प्रथा अन्त्यका लागि अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सहभागि वक्ताहरूले बालविवाह कानुनी र सामाजिक रूपमा अपराध भए पनि जनचेतनाको कमीका कारण अझै पनि मधेस प्रदेशमा यसले जरा गाडेको बताएका छन्। उनीहरूले विवाह संस्कारसँग सरोकार राख्ने सबै पक्षहरूको सामूहिक प्रयासबाट मात्रै बालविवाह र दाइजो प्रथा अन्त्य सम्भव हुनेमा जोड दिए।
जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले विवाह संस्कारमा संलग्न पण्डित, हजाम, बैण्डबाजा बजाउने व्यक्ति तथा वैवाहिक गीत गाउने गायिकाको सक्रियता आवश्यक रहेको उल्लेख गर्दै बालविवाह रोक्न विद्यालयस्तरमै सचेतनामूलक अभियान चलाउने योजना सार्वजनिक गरे। साथै, भागी विवाहका घटनामा बढोत्तरी भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले अब बालविवाहसँगै भागी विवाहका विषयमा समेत छलफल र बहस आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा जनलोकपाल आयोग मधेस प्रदेशका उपसचिव तथा बालविवाह अनुसन्धानकर्ता देवकुमारी खत्रीले मधेस प्रदेशमा २० वर्ष नपुगी विवाह गर्नेहरूको संख्या ४३.६ प्रतिशत रहेको तथ्याङ्क प्रस्तुत गरिन्। तीमध्ये महिलाको प्रतिशत ५९.४ तथा पुरुषको १५.८ रहेको जनाइन्। उनले १८ वर्ष नपुगी विवाह गर्नेको दर ३७.२ प्रतिशत रहेको उल्लेख गर्दै मधेसका २० जिल्लामध्ये सबैभन्दा बढी बालविवाह दर धनुषामा ४७.५ प्रतिशत र सबैभन्दा कम सप्तरीमा ३४.८ प्रतिशत रहेको जानकारी दिइन्।
लाईफ नेपालका अध्यक्ष सुरैत ठाकुरले विगतमा गरिएका सचेतनामूलक प्रयासका कारण बालविवाह दरमा केही सुधार देखिएको बताए। उनले यस्तो कार्यक्रमको निरन्तरता र समुदाय स्तरमै प्रभावकारी पहल आवश्यक रहेकोमा जोड दिए।
कार्यक्रममा सहभागी धर्मगुरु, हजाम समुदाय, होटल सञ्चालक, बैण्डवाजाका साहु, अभिभावक, सुरक्षाकर्मी लगायतका सरोकारवालाहरूले बालविवाह र भागी विवाहको सामूहिक बहिष्कार गर्ने प्रतिबद्धता जनाए। उनीहरूले बालविवाहविरुद्धका सबै गतिविधिमा सक्रिय सहभागिता जनाउने वाचा पनि गरे।
Discussion about this post