धनुषा/जेठ १५ गते। गणतन्त्र दिवसको अवसर पारेर मधेश प्रदेश सरकारले मधेशका आठवटै जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रेस स्वतन्त्रता सेनानीहरुलाई विशेष सम्मान प्रदान गरेको छ। दशकौँसम्म पत्रकारिता जस्तो चुनौतीपूर्ण र जोखिमपूर्ण पेशामा सक्रिय रहँदै देशका विभिन्न आन्दोलन तथा तिनबाट प्राप्त उपलब्धिहरूमा महत्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्तिहरूलाई नेपाल पत्रकार महासंघबाट प्रदान गरिएको उत्कृष्ट सम्मानको आधारमा प्रदेश सरकारले उनीहरूलाई कदर गरेको हो।
समारोहमा सञ्चारमन्त्रीसमेत रहेका राजकुमार लेखीले पत्रकारितामार्फत गणतन्त्र स्थापनामा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्न पाउँदा आफू गौरवान्वित भएको बताएका छन्। उनले भने, “कलमको बलमा परिवर्तनको आधार तयार पार्ने यो पुस्तालाई प्रदेश सरकारले सम्मानित गर्न पाएकोमा हामीलाई गर्व लागेको छ।”
सम्बन्धित कार्यक्रममा धनुषाबाट अशोक रौनियार, रामभरत साह, महोत्तरीबाट बिन्देश्वरी मण्डल, गोपाल बराल, ईश्वरी पोखरेल, कुमरकान्त झा, रौतहटका शैलेन्द्र गुप्ता, सप्तरीका बैद्यनाथ झा, प्रकाश खतिवडा, देवराम प्रसाद यादव तथा पर्साका सत्रुधन नेपाल र गया यादवलाई सम्मान प्रदान गरिएको हो।
गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा सम्पन्न कार्यक्रममा उपस्थित १२ जना प्रेस स्वतन्त्रता सेनानीहरूलाई जनही ११ हजार रुपैयाँ नगद र कदरपत्र प्रदान गरिएको मन्त्रालयले जनाएको छ।
मुख्यमन्त्री सतिश कुमार सिंह, सञ्चारमन्त्री लेखी तथा अन्य पदाधिकारीहरूको उपस्थितिमा सम्मान प्रदान गरिएको थियो। समारोहमा उपस्थित हुन नसकेका सेनानीहरूलाई छलफलपछि सम्मान प्रदान गरिने जानकारी मन्त्री लेखीले दिएका छन्।














Discussion about this post