धनुषा/जेठ १५ गते। गणतन्त्र दिवसको अवसर पारेर पाँच राजनीतिक दलले ‘सङ्घीय गणतान्त्रिक गठबन्धन’को घोषणा गरेका छन्। बिहीबार जनकपुरधाममा आयोजित एक विशेष समारोहमा नेपाल सङ्घीय समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी, ऐतिहासिक जनता पार्टी, बहुजन एकता पार्टी र नेपाल जनजागृति पार्टीले संयुक्तरूपमा गठबन्धन बनाएको घोषणा गरेका हुन्।
गठबन्धनमा नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी, नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतो, ऐतिहासिक जनता पार्टीका अध्यक्ष बद्री ठाकुर, बहुजन एकता पार्टीका अध्यक्ष हरिनन्दनकुमार रञ्जन र नेपाल जनजागृति पार्टीका अध्यक्ष धुपलालप्रसाद सहनी (निषाद) नेतृत्वमा रहेका छन्।
घोषणा कार्यक्रममा बोल्दै अन्सारीले मुलुकमा फेरि एकल शासकीय प्रवृत्ति देखिन थालेको उल्लेख गर्दै त्यसविरुद्ध कडा प्रतिरोध गर्ने चेतावनी दिए। उनले पछिल्लो समय राजावादी धारको सक्रियता बढेको भन्दै जनताले कमाएका उपलब्धिहरू जोगाउन कुनै पनि हदसम्म जान तयार रहेको बताए।
उनले मधेशका केही नेतामाथि मधेशी समुदायलाई पटक–पटक धोका दिएको आरोप पनि लगाए। शहीदहरूको बलिदानीलाई सत्तासँग साट्ने प्रवृत्ति रहेको बताउँदै ती नेताहरू मुद्दा परित्याग गरेर सत्ता केन्द्रित भएको अन्सारीको भनाइ थियो।
नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले गणतन्त्र आएको लामो समय बितिसक्दा पनि शोषित र पीडित समुदायले त्यसको अनुभूति गर्न नसकेको जनाउँदै, यथार्थ गणतन्त्र स्थापनाका लागि नयाँ गठबन्धन आवश्यक भएको स्पष्ट पारे। उनले गठबन्धनमा समावेश नेताहरू इमानदार रहेको दाबी गरे।
त्यस्तै, बहुजन एकता पार्टीका अध्यक्ष रञ्जनले जातिवाद र सामन्तवादको अन्त्य तथा दलित र उत्पीडित समुदायमाथिका अपराधविरुद्ध संघर्ष गर्न गठबन्धन बनाइएको बताए। उनले मधेश सरकारले दलितको पीडामा संवेदनशीलता नदेखाएको र अम्बेडकर पार्कका नाममा उनीहरूलाई विस्थापित गर्ने प्रयास भइरहेको आरोप लगाए।
मधेश प्रदेशकी सांसद तथा नेपाल सङ्घीय समाजवादी पार्टीकी उपाध्यक्ष विमला अन्सारीले अबका आन्दोलनहरू आत्मकेन्द्रित बन्नुपर्ने बताउँदै, समावेशी र समानुपातिक प्रणालीलाई कमजोर बनाउने प्रयास भइरहेका प्रति चिन्ता व्यक्त गरिन्। ठूला दलका कारण राजावादी प्रवृत्तिहरू पुनः सक्रिय भएको उनको भनाइ थियो।
पूर्वमन्त्री तथा सद्भावना पार्टीकी नेतृ सरिता गिरीले देशमा भएका विभिन्न घोटालामा संलग्न नेताहरू कारबाहीविहीन रहेकाले जनताले गणतन्त्रको अनुभूति गर्न नसकेको बताइन्। उनले काठमाडौँमा भइरहेको गणतन्त्र विरोधी आन्दोलनको जिम्मेवारी देउवा, ओली र दाहालले लिनुपर्ने दाबी गर्दै, आगामी प्रधानमन्त्री सङ्घीय गणतान्त्रिक गठबन्धनबाट बन्नुपर्ने धारणा राखिन्।
ऐतिहासिक जनता पार्टीका अध्यक्ष बद्री ठाकुरले मधेशी जनताको मुख्य शत्रु राजसंस्था रहेको भन्दै जनतालाई भ्रममा नपर्न आग्रह गरे। शासकहरूले आफू अनुकूलको संविधान बनाएको आरोप लगाउँदै उनले गठबन्धनले गद्दारहरूविरुद्ध संघर्ष गर्ने चेतावनी दिए।
नेपाल जनजागृति पार्टीका अध्यक्ष धुपलालप्रसाद सहनी निषादले अधिकार प्राप्ति गर्नुअघि शत्रु र मित्र चिन्न आवश्यक रहेको उल्लेख गर्दै, गलत व्यक्तिलाई मतदान गर्दा उत्पीडित वर्गले अधिकार गुमाएको तर्क प्रस्तुत गरे।
यस घोषणाले मधेश तथा उत्पीडित वर्गको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित वैकल्पिक राजनीतिक शक्तिका रूपमा सङ्घीय गणतान्त्रिक गठबन्धन उदाउने संकेत दिएको छ।














Discussion about this post