गिरिजानन्द साह/जनकपुरधाम/जेठ १४ गते। मारवाडी युवा मञ्च जनकपुरद्वारा बुधबार धनुषा जिल्लाको मुखियापटी मुसर्निया गाउँपालिका–५ स्थित खतवैया एकल विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ।
सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस सहयोग कार्यक्रममा २५ जना गरीब, निम्नवर्गीय तथा विपन्न वर्गका विद्यार्थीहरूलाई झोला, कापी, पेन्सिललगायत आवश्यक शैक्षिक सामग्रीहरू प्रदान गरिएका छन्। साथै, विद्यार्थीहरूको मनोरञ्जन र शारीरिक विकासका लागि फुटबल, क्यारम बोर्ड, लुडो र ब्याडमिन्टनजस्ता खेलकुद सामग्री पनि वितरण गरिएको छ।
मारवाडी युवा मञ्चका अध्यक्ष राहुल सिंघानियाका अनुसार विद्यालयमा डेस्क–बेन्चको अभाव भएकाले विद्यार्थीहरू भुइँमै बसेर पढ्नुपर्ने बाध्यता रहेको छ। यस अवस्थालाई मध्यनजर गर्दै हरेक विद्यार्थीलाई बस्नका लागि त्रिपाल र वर्षायामको सुरुवात भएकाले छातासमेत वितरण गरिएको जानकारी उनले दिए।
विद्यालयकी शिक्षिका विमला साहले मञ्चको पहलमा विद्यालयलाई व्हाइट बोर्ड, डस्टर र मार्करजस्ता सामग्रीहरू पनि हस्तान्तरण गरिएको बताइन्। उनले यस किसिमको सहयोगले विद्यार्थीहरूको अध्ययनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिन्।
अध्यक्ष सिंघानियाले मारवाडी युवा मञ्च समाजसेवाको क्षेत्रमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दै भने, “पढाइसँगै विद्यार्थीहरूमा असल संस्कार पनि विकास हुनु आवश्यक छ।”
उक्त कार्यक्रमले समाजमा सकारात्मक सन्देश फैलाएको र गरिब तथा पिछडिएको वर्गका विद्यार्थीहरूको शिक्षामा योगदान पुर्याउने विश्वास लिइएको छ ।
















Discussion about this post