गिरिजानन्द साह/जनकपुरधाम/जेठ १० गते। लियो क्लब अफ जनकपुरधामले आगामी लियो वर्ष २०२५–२६ का लागि नयाँ कार्यसमिति चयन गरेको छ। क्लबको ११औं साधारणसभा अन्तर्गत सम्पन्न निर्वाचनबाट लियो ओम कापरी अध्यक्षमा निर्वाचित भएका छन्। निर्वाचन प्रक्रिया क्लबका आन्तरिक विधानअनुसार पूर्ण पारदर्शी रूपमा सम्पन्न गरिएको थियो।
अध्यक्ष पदका लागि दुई उम्मेदवार—लियो विकास साह र लियो ओम कापरी—बीच प्रतिस्पर्धा भएको थियो। मतदानको निष्कर्ष अनुसार ओम कापरी १ मतले विजयी भएका हुन्। निर्वाचनको औपचारिक घोषणा लियो वर्ष २०२४–२५ का निवर्तमान अध्यक्ष लियो विकास साहले गरेका थिए।
यसै निर्वाचनमार्फत लियो जयन्त कदामिया उपाध्यक्ष पदमा निर्वाचित भएका छन्। साधारणसभामा क्लबको विगत एक वर्षको समीक्षा, आर्थिक प्रतिवेदन, गतिविधिहरूको मूल्यांकन तथा भावी कार्ययोजनाबारे समेत विस्तृत छलफल गरिएको थियो। नवनिर्वाचित अध्यक्ष ओम कापरीले धन्यवाद व्यक्त गर्दै आफूले क्लबलाई अझ सशक्त र सेवामूलक बनाउने दृढता व्यक्त गरेका छन्।
नयाँ नेतृत्वले युवा सदस्यहरूको सक्रियता र सामाजिक उत्तरदायित्वलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ। लियो क्लब अफ जनकपुरधाम स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तिकरण लगायत विविध सेवामूलक अभियानमा सक्रिय रहँदै आएको छ।
नयाँ कार्यसमितिले क्लबको पहिचानलाई थप सबल बनाउने र समाजमा सकारात्मक परिवर्तन ल्याउने कार्यमा निरन्तर लागिरहने अपेक्षा गरिएको छ ।

Discussion about this post