धनुषा/वैशाख २५ गते। धनुषा प्रहरीले सामाजिक सञ्जालमार्फत अनलाइन ठगी गर्ने गिरोहमा संलग्न ७ जना युवालाई सार्वजनिक गरेको छ। पक्राउ परेकाहरु धनुषा, महोत्तरी र सर्लाही जिल्लाका बासिन्दा हुन्, जसको उमेर १९ देखि २३ वर्षसम्म रहेको छ।
पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका–१ का २३ वर्षिय सुरज साह, सर्लाहीको बरहथवा नगरपालिका–७ का २२ वर्षिय नितेश कुमार साह, महोत्तरीको गौशाला नगरपालिका–१ का २२ वर्षिय रोशन साह, २१ सुधीर कुमार महतो, गौशाला–२ का १९ वर्षिय अमित साह, धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ का २२ वर्षिय श्याम सुन्दर महरा र क्षीरेश्वरनाथ –१ का २० वर्षिय राम कुमार महरा रहेका छन्।
प्रहरी नायव उपरीक्षक तथा धनुषा प्रहरीका प्रवक्ता वरुणबहादुर सिंहका अनुसार उनीहरुले इन्स्टाग्राम, फेसबुक, टिकटक, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमा फेक एकाउन्ट तथा पेज बनाएर मोबाईल, लत्ता कपडा जस्ता सामाग्री सस्तोमा दिने प्रलोभन देखाई ठगी गर्दै आएका थिए।
“उनीहरुले सामाजिक सञ्जालमा सम्पर्क गर्ने व्यक्तिहरुलाई अग्रिम भुक्तानी गर्न लगाई पैसा लिएको र पछि ब्लक गरेर सम्पर्कविहीन हुन्थे,” सिंहले जानकारी दिए।
पक्राउ परेका युवाहरुले २१ वटा फेक सोसल मिडिया एकाउन्ट तथा पेजको प्रयोग गरी ठगी गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। उनीहरुले आर्थिक अवस्था कमजोर भएका गाउँघरका मानिसहरुलाई प्रलोभन देखाई तिनको नाममा विभिन्न बैंक, वित्तीय संस्था तथा मोबाइल वालेटमा खाता खोल्न लगाई ती खातामार्फत अनलाइन कारोबार गर्ने गरेको खुलेको छ।
प्रहरीका अनुसार उनीहरुको साथबाट १८७ वटा बैंक तथा वालेट खाताहरुको विवरण फेला परेको छ, जसबाट हालसम्म २ करोड ६३ लाख ९३ हजार १९२ रुपैयाँ बराबरको कारोबार भएको देखिएको छ।
प्रहरीले अनुसन्धान अघि बढाउँदै थप संलग्न व्यक्तिहरुको खोजी तथा आर्थिक कारोबारको विस्तृत विवरण संकलन गरिरहेको जनाएको छ।
Discussion about this post