गिरिजानन्द साह/जनकपुरधाम/बैशाख २१ गते।
मारवाडी महिला मञ्च र मारवाडी युवा मंच जनकपुरधामको नयाँ कार्यसमितिको सपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रम एक भव्य समारोहका साथ सम्पन्न भएको छ। मधेस प्रदेशका माननीय मुख्यमन्त्री श्री सतिश कुमार सिंहको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा समाजसेवा, उद्योग, राजनीतिज्ञ तथा सञ्चार क्षेत्रका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि मुख्यमन्त्री श्री सतिश कुमार सिंहले गर्नुभएको थियो। उहाँले नव निर्वाचित पदाधिकारीहरूलाई शुभकामना दिँदै सामाजिक सेवाको मार्गमा निरन्तर अग्रसर रहन आग्रह गर्नुभयो।
सपथ ग्रहणको कार्य निर्वाचन आयुक्त तथा मारवाडी सेवा समितिका अध्यक्ष श्री निर्मल चौधरीले गराउनु भएको थियो। उहाँले संस्थाको नियमित, पारदर्शी र निष्ठापूर्वक सञ्चालनमा नव निर्वाचित टोलीको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो।
मारवाडी महिला मञ्चकी अध्यक्ष श्रीमती दीपा चौधरीले नव निर्वाचित अध्यक्ष श्रीमती सारदा देवी अग्रवाललाई पद तथा कार्यभार हस्तान्तरण गर्नुभयो। यस्तै, मारवाडी युवा मंचका अध्यक्ष श्री विक्रम जैनले नव निर्वाचित अध्यक्ष श्री राहुल सिंघानियालाई जिम्मेवारी सुम्पनुभयो।
उक्त अवसरमा नव निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रमको दौरान वक्ताहरूले मारवाडी समुदायले जनकपुरधामको सामाजिक र आर्थिक विकासमा पुर्याएको योगदानको चर्चा गर्दै यस्ता संस्थाहरूले सामाजिक एकता, सेवा र नेतृत्व विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री सिंह र निर्वाचन आयुक्त निर्मल चौधरीका साथै जनकपुरधाम उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष श्री जितेन्द्र महासेठ, वर्तमान अध्यक्ष श्री सुरेन्द्र भण्डारी, उपाध्यक्ष श्री लक्ष्मण साहलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, सरोकारवालाहरू तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमको संचालन प्रमोद अग्रवालले गरेको थियो। कार्यक्रमलाई सफल बनाउन आयोजकद्वय संस्था—मारवाडी महिला मञ्च र मारवाडी युवा मंचले सहकार्यपूर्वक व्यवस्थापन गरेको थियो।
Discussion about this post