गिरिजानन्द साह/धनुषा/बैशाख २० गते। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ धनुषा शाखाले शनिबार प्रभात फेरी, पत्रकारहरुको निशुल्क स्वास्थ्य परिक्षण तथा रक्तदान जिवनदान कार्यक्रम भब्यतापुर्वक सन्पन्न भएको छ ।
कार्यक्रमको सुरुआत बिहानै नेपाल पत्रकार महासंघ धनुषा शाखा भवनबाट प्रभातफेरीबाट भएको थियो। पाँच दर्जन भन्दा बढि पत्रकारहरुको भब्य सहभागितामा प्रभातफेरी महासंघबाट विहान ७ बजे सुरु भई रामचौक, जानकी मन्दिर, जनकचौक हुदै मधेश सरकारको स्वास्थ्य प्रयोगशालामा पुगेर स्वास्थ्य शिविरमा परिणत भएको थियो ।
उक्त शिविरमा पत्रकारहरूको शरीर तौल तथा उचाइको आधारमा ‘बडी मास इंडेक्स’ (BMI) परीक्षण, रक्तचाप, मधुमेह (सुगर), मृगौला कार्यसम्बन्धी परीक्षण, तथा महिलाहरूमाझ पाठेघर मुख क्यान्सर स्क्रिनिङ्ग सहित नशर्ने रोगहरुको परीक्षण निःशुल्क रूपमा गरिएको थियो।
नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष पुरन साहले कार्यक्रममा बोल्दै प्रेस स्वतन्त्रताको महत्व झल्काउने यस्ता दिवसहरूमा सञ्चारकर्मीहरूलाई न केवल सचेत, सशक्त र एकीकृत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। साथै, स्वास्थ्य परीक्षणजस्ता कार्यक्रमले पत्रकारहरूको भौतिक स्वास्थ्यप्रति पनि ध्यान दिन आवश्यक रहेको भन्दै आगामी दिनहरूमा अझ व्यापक स्वास्थ्य कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। प्रभातफेरीमा स्थानीय पत्रकार, सञ्चारकर्मी तथा संघका पदाधिकारीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
यस कार्यक्रमले पत्रकारिता क्षेत्रमा कार्यरत व्यक्तिहरूको स्वास्थ्य सुदृढीकरण, पेशागत उत्साह र सामाजिक उत्तरदायित्वलाई सँगसँगै अघि बढाउने संदेश दिएको छ।














Discussion about this post