गिरिजानन्द साह/धनुषा/चैत २८ गते। जिल्ला प्रशासन कार्यालय धनुषाको आयोजनामा लागुऔषध नियन्त्रणसम्बन्धी एक महत्वपूर्ण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सुरक्षा निकाय, मधेश प्रदेश सरकार, स्थानीय तह तथा विभिन्न सरोकारवाला निकायहरूको सक्रिय समन्वय र सहकार्य देखिएको थियो।
उक्त कार्यक्रम जिल्ला समन्वय समिती, धनुषाका प्रमुख राजनन्दन मण्डलको विशेष उपस्थितिमा सम्पन्न भएको हो। प्रमुख अतिथिका रुपमा सहभागी मण्डलले बढ्दो लागुऔषध दुरुपयोगको समस्या समाधानका लागि सबै तहबाट संयुक्त प्रयास आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रामु राज कडरीया, श्रम तथा यातायात मन्त्रालय, मधेश प्रदेशका सचिव श्री युवराज अधिकारी, नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामत लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
प्रमुख जिल्ला अधिकारी कडरीयाले लागुऔषध दुरुपयोग युवाहरूमा बढ्दो समस्या बनिरहेको भन्दै यसको रोकथामका लागि प्रहरी प्रशासन, स्थानीय सरकार तथा समुदायबीच गहिरो सहकार्य आवश्यक रहेको बताए। उनले विद्यालय, कलेज र समुदाय स्तरमा सचेतना अभियान सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
प्रदेश सचिव युवराज अधिकारीले लागुऔषधको शिकार बनेका युवालाई पुनःस्थापना गर्न राज्यले विभिन्न कार्यक्रम ल्याएको जनाउँदै सामाजिक पुनर्स्थापनाको खाँचोमा जोड दिए।
नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामतले मिडियाको भूमिका अत्यन्तै महत्वपूर्ण हुने बताउँदै सूचना प्रवाह र जनचेतना अभिवृद्धिमा सञ्चार माध्यमहरू अझ सक्रिय हुनुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा सहभागी वक्ताहरूले स्थानीय तहहरूसँग सहकार्य गर्दै विद्यालयस्तरमै सचेतनामूलक कार्यक्रम, पुनःस्थापना केन्द्रहरूको स्थापना तथा कडाइका साथ लागूऔषध कारोबार नियन्त्रणका कदमहरू चाल्नुपर्नेमा जोड दिएका थिए।
यस किसिमको कार्यक्रमले समाजमा लागुऔषधको असरबारे गम्भीर बहस सिर्जना गर्नुका साथै नीति निर्मातादेखि समुदायसम्मको साझा प्रयासको खाँचो औंल्याएको सहभागीहरूको भनाइ थियो।
कार्यक्रमको समापनमा जिल्ला प्रशासन कार्यालय धनुषाले आगामी दिनमा समेत यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने प्रतिबद्धता जनाएको छ।



Discussion about this post