चैत १८ गते । नेकपा एमालेले गणतन्त्रको पक्षमा जनकपुरधाममा भव्य मोटरसाइकल र्याली निकालेको छ। गणतन्त्रको समर्थन गर्दै तथा पार्टीको सांगठनिक गतिविधिलाई थप सशक्त बनाउने उद्देश्यले एमाले धनुषाको नेतृत्वमा आयोजित यो र्याली पार्टी कार्यालयबाट सुरु भई तिरहुतिया गाछी पुगेर समापन गरिएको हो।
एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवको अगुवाइमा निकालिएको उक्त मोटरसाइकल र्यालीमा जनकपुरधामका सबै वडा कमिटीका सदस्यहरू, पार्टीका युवा कार्यकर्ता, स्थानीय नेता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले मोटरसाइकलमा झण्डा फहराउँदै, एमालेका नारा लगाउँदै र लोकतान्त्रिक व्यवस्थाको समर्थन गर्दै जनकपुरधामका प्रमुख सडकहरूमा परिक्रमा गरेका थिए।
यसैक्रममा, नेकपा एमालेले हालै तीनकुनेमा राजावादी समूहले मच्चाएको हिंसा, हत्या र लुटपाटको कडा विरोध जनाएको छ। एमालेले उक्त घटनाका दोषीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ। पार्टी नेताहरूले गणतन्त्रको सुरक्षा र संवैधानिक व्यवस्थाको मजबूतीका लागि सचेत नागरिकहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन्।
















Discussion about this post