गिरिजानन्द साह/जनकपुरधाम/चैत ९ गते। कम्प्युटर एशोसीएशन नेपाल महासंघ, धनुषाले डिजिटल साक्षरताको प्रवर्द्धन गर्ने उद्देश्यले तीन महिने नि:शुल्क आधारभूत कम्प्युटर तालिम सञ्चालन गर्ने भएको छ। उक्त तालिमको औपचारिक उद्घाटन आज जनकपुरधामस्थित शुभम होटलमा एक विशेष समारोहका बीच सम्पन्न भएको छ।
कार्यक्रममा पूर्व मन्त्री माननीय जुलि महतो प्रमुख अतिथि रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा माननीय प्रतीक्षा तिवारी र प्रदेशसभा सदस्य माननीय दिपेन्द्र ठाकुरको उपस्थिति थियो। कम्प्युटर एशोसीएशन नेपाल महासंघ, धनुषाका अध्यक्ष बिनय साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि माननीय जुलि महतोले प्रविधि शिक्षाको आवश्यकता औंल्याउँदै यस किसिमको तालिमले युवाहरूलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले डिजिटल नेपाल निर्माणका लागि आधारभूत कम्प्युटर शिक्षामा सबैको पहुँच आवश्यक रहेको उल्लेख गर्नुभयो।
त्यस्तै, विशिष्ट अतिथि माननीय प्रतीक्षा तिवारीले आधुनिक युगमा प्रविधिको प्रयोग अनिवार्य भएको भन्दै कम्प्युटर शिक्षाबिना कुनै पनि पेशा वा व्यवसाय सम्भव नहुने धारणा व्यक्त गर्नुभयो। माननीय दिपेन्द्र ठाकुरले युवाहरूलाई लक्षित गरी प्रविधिमैत्री नीति तथा कार्यक्रम आवश्यक रहेको बताउँदै यस्ता तालिमहरू ग्रामीण भेगसम्म पुर्याउन पहल गरिनुपर्नेमा जोड दिनुभयो।
तालिम धनुषाका विभिन्न कम्प्युटर ईन्स्टिच्युटहरूसँगको सहकार्यमा सञ्चालन गरिनेछ, जसमा कम्प्युटरका आधारभूत ज्ञानदेखि अन्य डिजिटल सेवाहरूको प्रयोगबारे विस्तृत प्रशिक्षण दिइनेछ।
कार्यक्रममा अतिथिका रूपमा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी समेत सहभागी हुनुहुन्थ्यो। उहाँले प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न यस्ता तालिमहरू निरन्तर आवश्यक रहेको भन्दै कम्प्युटर एशोसीएशन नेपाल महासंघ, धनुषाको यस पहललाई प्रशंसा गर्नुभयो।
कार्यक्रममा पत्रकारहरू, तालिम सहयोगी संस्थाहरूका प्रतिनिधिहरू तथा तालिममा सहभागी विद्यार्थीहरूको समेत उल्लेखनीय उपस्थिति थियो। सहभागीहरूले यस्ता अवसरहरू अझ बढी हुनुपर्ने माग राखेका थिए।
यस तीन महिने नि:शुल्क कम्प्युटर तालिमले धनुषा क्षेत्रका युवाहरूलाई कम्प्युटर साक्षर बनाउने मात्र नभई रोजगारीका अवसरहरू समेत सिर्जना गर्ने विश्वास गरिएको छ। कम्प्युटर एशोसीएशन नेपाल महासंघ, धनुषाले आगामी दिनमा पनि यस्ता तालिमहरू निरन्तर सञ्चालन गर्ने योजना बनाएको छ।






























Discussion about this post