चैत्र ६ गते । धनुषाकाे धनुषाधामबाट ग्रेटर मधेश मिडिया प्रालिद्वारा सञ्चालित रेडियो धनुष ९९.७ मेगाहर्जले बुधवार आफ्नो ५ औं वार्षिकोत्सव धुमधामका साथ मनाएको छ। रेडियोका संचालक एवं पत्रकार मुकेशकुमार ठाकुरकाे अध्यक्षता तथा मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलकाे प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
वार्षिकोत्सव समारोहलाई सम्बाेधन गर्दै प्रमुख अतिथि सभामुख मण्डलले संचारकर्मीलाई सत्ताको अगरबत्ती बन्नुभन्दा जनताको मैनवत्ती बन्नुपर्ने बताउनुभयो। उहाँले सञ्चार जगतले सधैं सत्य, निष्पक्षता र जनहितका मुद्दालाई प्राथमिकता दिएर समाचार सम्प्रेसन गर्नु पर्ने दायित्वलाई विर्सन नहुने उल्लेख गर्नुभयो। सभामुख मण्डलले अगाडि थप्दै भन्नुभयो, “सञ्चारमाध्यम जनताको आवाज बन्नुपर्छ, सामाजिक अन्याय, विभेद र दुःखका कुराहरू उजागर गर्दै समाधानतर्फ अघि बढ्नुपर्छ। मिडियाले समाजको ऐना भएर काम गर्नु आवश्यक छ।”
वार्षिकोत्सव समारोहलाई सम्बाेधन गर्दै विशेष अतिथि सबैला नगरपालिकाका नगर प्रमुख कारीराम यादवले आर्थिक संकटका कारण थुप्रै एफएम रेडियो बन्द भइरहेको बेला धनुषाधामबाट सञ्चालित रेडियो धनुषले समुदायका समस्या उजागर गर्ने महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो। उहाँले स्थानीय स्तरका यस्ता संचार माध्यमहरूलाई संरक्षण गर्न राज्यको ध्यान जानुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा बोल्दै रेडियोका सञ्चालक तथा सञ्चारकर्मी मुकेशकुमार ठाकुरले विज्ञापनदाता, शुभेच्छुक र वार्षिकोत्सव कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरे। समारोहमा उपस्थित अतिथिहरुलाई सम्मान समेत गरिएकाे थियो। वार्षिकोत्सवमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, पत्रकार, बुद्धिजीवी लगायतकाे उल्लेखनीय उपस्थिति रहेको थियो।
Discussion about this post