गिरिजानन्द साह/धनुषा/चैत २ गते। होली पर्वलाई लक्षित गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ। पर्वको समयमा सम्भावित दुर्घटना र अवाञ्छित गतिविधिहरू नियन्त्रण गर्न र सवारी सुरक्षामा कडाइ ल्याउन यो योजना ल्याइएको हो।
जिल्ला ट्राफिक कार्यालय धनुषाका ईन्सपेक्टर हरी बहादुर ओलीले होलीको समयमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई कडा कारबाही गरिने जानकारी दिएका छन्। ओलीका अनुसार, पर्वको दिन ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनहरूलाई तत्काल नछाडिने र कारवाहीमा परेका सवारीहरू भोलिपल्टमात्रै छाडिने निर्णय गरिएको छ।
उनले भने, “होलीको समयमा सवारी चालकहरूले ट्राफिक नियमको उल्लङ्घन गरेमा कडा कारबाही हुनेछ। मदिरा सेवन गरेर सवारी चलाउने, सवारी अनुमतिपत्र नभएका चालक, ओभर स्पिड, र नियम उल्लङ्घन गर्ने अन्य गतिविधिहरूमा संलग्न सवारीसाधनहरूलाई नियन्त्रणमा लिइनेछ। कारवाहीमा परेका सवारीहरू होलीको भोलिपल्ट मात्रै छाडिने व्यवस्था मिलाइएको छ।”
यस क्रममा, मदिरा सेवन परीक्षण (मापसे चेकजाँच), सवारी चालकहरूको अनुमति पत्र जाँच, सवारी साधनहरूको कागजात जाँच, तथा सवारीको प्राविधिक अवस्था परीक्षणमा विशेष ध्यान दिइने छ।
ट्राफिक प्रहरीको टोलीले धनुषाका मुख्य सडक, चोक, र संवेदनशील क्षेत्रहरूमा चेकजाँच र निगरानी कडा पार्ने तयारी गरेको छ। सुरक्षा सतर्कता बढाउनका लागि सीसीटीभीको प्रयोग र मोबाइल पेट्रोलिङसमेत गरिने बताइएको छ।
ईन्सपेक्टर ओलीले सर्वसाधारणमा सुरक्षित र जिम्मेवार व्यवहार प्रदर्शन गर्न आग्रह गर्दै भने, “होली रमाइलोको पर्व हो, तर अनुशासनमा रहेर रमाइलो गर्नुहोस्। नियम उल्लङ्घन गरेमा कानुनी कारबाही सामना गर्नु पर्नेछ।”
यस अतिरिक्त, ट्राफिक कार्यालयले सवारी चालक र सर्वसाधारणबीच जनचेतना अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। सडक सुरक्षासम्बन्धी सचेतनामूलक सन्देशहरू प्रसारण गरी दुर्घटनाको जोखिम न्यूनिकरण गर्ने लक्ष्य राखिएको छ।
धनुषाका स्थानीय प्रशासनले पनि शान्तिपूर्ण र सुरक्षित रूपमा होली पर्व मनाउन सबैलाई आह्वान गरेको छ।
Discussion about this post