माघ १ गते। धनुषाको प्रसिद्ध धार्मिक स्थल धनुषाधाममा मंगलबारदेखि एक महिने मकर संक्रान्ति मेला शुरु भएको छ ।
माघ महिनाको प्रत्येक साताको आइतबार र मंगलबार लाग्ने तिला मेलाको शुभारम्भ मंगलबार नै परेको छ । धनुषाधाममा लाग्ने मकर मेलाको व्यवस्थापन धनुषाधाम नगरपालिका तथा मन्दिर व्यवस्थापन समितिले गर्दै आएको छ । जिल्लाको उत्तरी पूर्वी क्षेत्रमा ऐतिहासिक, धार्मिक एवं पौराणिक महत्त्व बोकेको धनुषाधामको मकर मेला प्रत्येक वर्ष माघ १ गतेदेखि महिनाको अन्त्यसम्म लाग्ने गर्छ । यो मेला यस क्षेत्रको सबैभन्दा प्रख्यात र महत्त्व बोकेको मेला हो । यस मेलामा नेपालसहित भारतका विभिन्न स्थानबाट लाखौँको सङ्ख्यामा श्रद्धालु भक्तजनहरु मेला भर्न आउने गर्छन् ।
त्रेता युगमा राजा जनकले छोरी जानकीको विवाहका लागि आयोजना गरेको सीता स्वयमवरमा श्रीरामले भाँचेको धनुषको एक टुक्रा आकाश, अर्को पाताल र मध्य टुक्रा धनुषाधाममा झरेको किंवदन्ती छ।
विष्णु पुराणका अनुसार त्रिपुरासुर सङ्ग्राम भएपछि दधिचि मुनिको हाडबाट बनेको धनुष परशुरामलाई दिइएको थियो। परशुरामले उक्त धनुष राजा जनकलाई दिएका थिए। रामले उक्त धनुषमा वाण चलाउँदा तीन टुक्रा भएको थियो। एक टुक्रा आकाश हुँदै भारतको दक्षिण प्रान्त रामेश्वर, दोस्रो टुक्रा पाताल र तेस्रो जनकपुरधामको धनुष क्षेत्रमा छ।
धनु खसेको जनकपुरधामको पोखरी धनुष सागरको नामले चिनिन्छ। मध्य भाग आएर खसेको ठाउँ धनुषाधाम रहेको मन्दिरका महन्थ भरत दासले बताए। धनुषाधाममा खसेको धनुषको कालो रङको शिलामाथि अहिले पीपलको रुख छ। उक्त रुख साढे पाँच सय वर्ष पुरानो रहेको विश्वास गरिन्छ। पीपलको बोटमुनि नागको बास रहेको बताइन्छ। अमावस्या तिथिका दिन मध्यरातमा मणिसहितको नाग देखिने र पूरै मन्दिर हरियो रङले रङ्गिने जनविश्वास छ।
धनुषको मध्य टुक्रा झरेको स्थानमा धनुष बाबाको मन्दिर निर्माणपछि माघमा मकर मेला लाग्ने गरेको हो। भक्तजनले धनुषको टुक्रामा पुष्प जल अर्पण गर्छन्। जनकपुरधामदेखि करिब १९ किलोमिटर उत्तर पूर्वमा रहेको धनुषाधाममा धनुषको पूजाआर्चना गर्न बर्सेनि लाखौँको सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरू आउँछन्।
पाँच मकर स्नान गरेर धनुष भगवान्को दर्शन गरेपछि १०० रामेश्वरमको दर्शन बराबर हुने धार्मिक विश्वास रहेको छ ।
Discussion about this post