जनकपुरधाम/ कार्तिक २९ गते। धनुषाको कमला नगरपालिकाले आज र भोली गरी दुई दिनको सार्वजनिक विदा दिएको छ । हिन्दू धर्मावलम्बीहरुले कार्तिक पुर्णिमाको दिन कमला नदीमा स्नान गर्दै पूजापाठ गरी कार्तिक पुर्णिमा मनाउनका लागि कमला नगरपालिकाले आज र शुक्रबार गरी दुई दिनको विदा दिएको कमला नगरपालिकाका मेयर विश्वेश्वर यादव द्वारा हस्ताक्षरित विज्ञप्ति उल्लेख छ । विदाको दिन नगरपालिका अन्तर्गत्को सम्पूर्ण सामुदायिक विद्यालयहरु, वडा कार्यालयहरु, स्वस्थ्य संस्थाहरु र नगर कार्यपालिकाको कार्यालयसमेतमा सार्वजनिक विदा रहने मेयर यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
धनुषा–सिरहासंग जोडिएको कमला नदीमा स्नान गर्न दुरदराजबाट समेत श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्ने गर्छ । कार्तिक पुर्णिमाको अवसरमा दुई दिनसम्म चल्ने सो मेलामा हजारौँको संख्यामा धामी झाँक्रीहरुसमेत सहभागी हुने गरेका छन् । यस मेलाा सिरहा, धनुषा, महोत्तरी, सप्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभंगा, समस्तीपुरलगायत जिल्लाका लाखौं मानिस कमला नदीमा स्नान गर्न आउने गर्छन् । आजैदेखि धामी झाँक्री, श्रद्धालुहरु कमला स्नानको लागि ट्रयाक्टर, जीप, गाडी, मोटरसाईकल, टेम्पोमा भरी भराउ जान थालेका हुन् । कमला नगरपालिकाका नगर प्रमुख विशेश्वर यादवले भीड र श्रद्धालुहरुको व्यवस्थापनलाई मध्यनजर गर्दै दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । आज र भोली कमला नगरपालिकाभित्रको सरकारी अड्डाहरु बन्द रहने भएको छ ।
Discussion about this post