फागुन २४ गते। वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध प्रहरी कहाँ किटानी जाहेरी दर्ता भएको छ ।
नागरिकता कीर्ते गरेको कसूरमा सिंहविरुद्ध जिल्ला प्रहरी कार्यालय, पर्सामा जाहेरी दर्ता भएको डीएसपी कुमारविक्रम थापाले अनलाइनखबरसँग पुष्टि गरे । उनले भने, ‘१०-१५ दिन अगाडि नै जाहेरी आएको थियो, बिहीबार (आज) दर्ता भएको छ ।’
जाहेरीमा अन्य केहीलाई पनि प्रतिवादी बनाएर आएको भए पनि नामहरु आफूलाई यकिन नभएको उनले बताए । जनता समाजवादी पार्टीमा आबद्ध सिंह १० जेठ २०७९ मा वीरगञ्ज महानगरको मेयरमा निर्वाचित भएका थिए ।गएको पुस अन्तिमतिर वीरगञ्जका मेयर सिंहले आफू नक्कली बाबु भनेर एक जना युवतीलाई नागरिकता बनाइदिएको सार्वजनिक भएको थियो । त्यसबेला जिल्ला प्रशासन कार्यालय, पर्साले छानबिन गर्दा ढड्डाबाट अनुसूची नै गायब भएको पाइएको अधिकृतहरु बताउँछन् ।
प्रशासनले १३ साउन २०७५ मा उनलाई नागरिकता जारी गरेको विवरणहरु सार्वजनिक भएका थिए । यसबारे छानबिन गर्न गृह मन्त्रालयले समिति समेत बनाएको थियो । त्यसक्रममा उनले नागरिकता लिने युवती अर्की श्रीमतीबाट जन्मिएकी ‘आफ्नै छोरी’ भएको बताएका थिए ।पछि दोस्रो श्रीमती भनिएकी महिलाले अदालतमा अंश र डिभोर्सको मुद्दा समेत दिएको अधिकारीहरु बताउँछन् ।















Discussion about this post