माघ ३ गते । युवतीजस्तै देखिन युवकले सलवार–कमीज र चुरा मात्र लगाएनन्, निधारमा बिन्दी, अनुहारमा मेकअप र ओठमा लिपस्टिक लगाएका थिए । यति मात्र होइन, युवतीको गेटअपमा उनले आफ्नी प्रेमिकाको नाममा बनाइएको आधार कार्ड र मतदाता कार्ड पनि लिएका थिए ।
भारतमा प्रेमिकाको सट्टामा परीक्षा दिन युवतिको पहिरन र लिपस्टिक अनि मेक अप लगाएर पन्जाबको एउटा विश्वविद्यालयको परीक्षा हलमा गएका युवकको पोल खुलेको छ । पन्जाबको फरिदकोट जिल्लामा बाबा फरिद युनिभर्सिटी अफ हेल्थ साइन्सेजका अधिकारीहरूले छद्म भेषमा नक्कली कागजपत्रको साथमा आएका युवकलाई समातेका हुन् ।
बहुउद्देश्यीय स्वास्थ्य कामदारको परीक्षा दिन ती पुरुष आफ्नो प्रेमिकाको सट्टामा परीक्षा दिन आएका थिए । यो घटना जनवरी ७ को हो । फाजिल्काका अंग्रेज सिंह नाम गरेका ती युवक महिलाको पहिरन लगाएर आएका थिए । पहिरनका कारण कर्मचारीहरू झुक्किए पनि बायोमेट्रिक स्क्यानलाई उनले छक्क्याउन सकेनन् ।
आवेदन फारममा टाँसिएको परमजीत कौरको तस्बिर र परीक्षार्थी बनेर आएकी महिलाको अनुहार पनि मेल खाएको थिएन । पछि बायोमेट्रिक्स चेक जाँच गर्ने क्रममा रेकर्डमा मेल खाएन । अंग्रेज सिंहले परमजीत कौरको नाममा झुटो आधार कार्ड, मतदाता पत्र र बनाएको भेटियो ।
सुरुमा अंग्रेज सिंहलाई परीक्षा हलबाट घर पठाइएको भएपनि पछि उनी विरुद्ध ऊजुरी दर्ता गरिएको छ । उनी विरुद्ध कयौँ आरोपमाथि अनुसन्धान भइरहेको छ । अंग्रेज सिंहले यस अघि पनि परमजीत बनेर परीक्षा दिएको अनि अनुत्तीर्ण भएको पाइएको छ । यो पटक भने उनी परीक्षामा उत्तीर्ण हुने आशमा परीक्षा दिन आएका थिए । अहिले सामाजिक सञ्जालमा अंग्रेज सिंह महिला बनेर परीक्षा हलमा बसेको फोटो भाइरल बनिरहेको छ ।





















Discussion about this post