काठमाडौँ/पुस १९ गते। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीका समस्या समाधान गर्न शुद्धीकरणमा जानुपर्ने आवश्यकता रहेको बताएका छन्।
नेफ्स्कुनका नवनिर्वाचित अध्यक्ष ढकालले सुशासन र सहकारीको मर्यादामा नबस्ने सहकारीहरुलाई शुद्धीकरण गरेर जाने आफूले पहिलो बैठकमै प्रतिबद्धता व्यक्त गरेको बताए। न्युज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष ढकालले सहकारीका सदस्य र नेतृत्वले सुशासन र सहकारीको मर्यादा भन्दा बाहिर गएर सम्झौता नगर्ने प्रतिवद्धतासहित नयाँ ढङ्गमा अगाडि बढ्ने बताए।
उनले सहकारीको शुद्धीकरणमा गए मात्रै पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न सकिने दाबी गरे। उनले सहकारीको क्षेत्रभित्र सम्भावना धेरै रहेको उल्लेख गरे। अध्यक्ष ढकालले सहकारी भित्र आएका समस्याहरु व्यक्ति विशेषको कारण आएको भन्दै सहकारी अभियान र नेतृत्वमा त्यस्तो समस्या नभएको दाबी गरे।
उनले केही नम्बरमा गन्न सकिने सहकारीको लगानी र प्रकृति हेर्दा सहकारी संस्था भन्न नसकिने भएकाले त्यस्ता सहकारीलाई शुद्धीकरणको माध्यमबाट पृथक रुपमा सहकारी अभियान अगाडि बढाउने बताए। उनले वचत तथा ऋण सहकारीभित्र धेरै नम्बर रहेकाले त्यहाँ भएका नम्बरभित्र शुद्धीकरण गरी वचत तथा ऋण सहकारी संस्थाहरुले नै सुशासनको प्रत्याभुति दिनेगरी सहकारीका मूल्य मान्यतामा हिँड्न आवश्यक रहेको बताए।
उनले अब पनि सहकारीको मान्यतामा भएका सहकारी हिँड्न नसक्ने परिस्थिति भए ठूलो संकट आउने अवस्था रहेको भन्दै सहकारीहरु सुधार हुनुको विकल्प नभएको बताए। उनले भूकम्प, युक्रेन—रसियाको युद्ध, कोभिड महामारी सबैभन्दा ठूलो असरको कारण रहेको र बजारमा तरलता अभावको कारणले पनि सहकारीमा प्रभाव परेको बताए।
Discussion about this post