श्रावण २७ गते। आज बिहानै देखि देशका धेरै ठाउँमा पानी परिरहेको छ ।मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। यसका साथै भारतको उत्तर पूर्वी उत्तर-प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणाली को पनि प्रभाव रहेको छ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । गण्डकी प्रदेशका केही, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
दिउँसो कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो । उहाँका अनुसार आज राति कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै ठाउँ र बाँकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।
मौसम पूर्वानुमान महाशाखाले पर्सि सोमवारसम्म नै देशका विभिन्न भागमा सरदरभन्दा धेरै पानी पर्ने सम्भावना रहेकोले बाढी/पहिरो र भेलपहिरोको जोखिम हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । नेपालमा अहिले दुईथरी न्यूनचापीय प्रणालीको प्रभाव छ ।
भारी वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन पनि महाशाखाको अनुरोध छ।














Discussion about this post