बैशाख २१ गते । कार्यालयमै बर्दी लगाएरै तास खेल्दै प्रहरी । सुन्दा विश्वास नलाग्न सक्छ । तर यो खबर सत्य हो । काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरु कार्यालयमै बर्दी लगाएर नै तास खेल्ने गरेको देखिएको छ ।
टेकुस्थित नगर प्रहरी बलको कार्यालयमा नगर प्रहरीको पोसाकमै तास खेलिरहेको तस्बिर सार्वजनिक भएपछि यो प्रमाणित भएको हो । नगर प्रहरी बलको पोसाकमै तास खेलिरहेको तस्बिर सार्वजनिक भएपछि यस्तो तथ्य बाहिरिएको हो ।
कार्यालय समयमा तास खेल्दै गरेको तस्बिरमा नगर प्रहरी नायव निरीक्षक नीरकुमार बस्नेत, हवलदार प्रयास घिमिरे र जवान रुपेश बानियाँ देखिएका छन् । बानियाँ भने कम्पनी करार मार्फत नगर प्रहरीमा आएका हुन् । तास खेलिरहेको उनीहरुको तस्बिर बुधबार दिउँसोको भएको महानगरपालिका स्रोतले जनाएको छ ।
कार्यालयमा तास खेल्ने नगर प्रहरीलाई छानबिनको प्रक्रियामा ल्याइएको महानगरपालिका स्रोतले जनाएको छ । ‘तास खेलिरहेको तस्बिर हामीले पनि देख्यौं, अहिले अन्य व्यक्तिलाई पनि छानबिनको दायरामा ल्याएका छौं । अन्य पनि संलग्न भएको पाइएमा उनीहरूलाई पनि कारबाही गर्छौं’ महानगरका एक नगर प्रहरी अधिकारीले जानकारी गराए ।
Discussion about this post