बैशाख १० गते । जौको सातु र सर्वत दान गरेर र खाएर आज (आइतबार) अक्षय तृतीया पर्व मनाइँदै छ । पानीमा सखर चिनी वा मिस्रीमध्ये एक हाली ल्वाङ, सुकुमेल, दालचिनी र मरिचजस्ता मसला राखेर सर्वत तयार गरिन्छ । कतैकतै सातु र सर्वतसहित खुँदो र मह पनि खाने चलन छ । यही सर्वत र जौको सातु दान गर्ने र आफू पनि खाने अक्षय तृतीयाको विधान हो ।
धार्मिक मान्यता
अक्षय फलप्राप्ति हुने कामनासहित यस दिन सातु र सर्वतसहित छाता, लौरो र जुत्तालगायतका वस्तु दान गर्ने चलन पनि छ । गच्छेनुसार अत्रदान, गौदान, भूमिदान र सुनदानको पनि महत्व छ । शास्त्रीय विधानअनुसार दियो, कलश र गणेश पूजा गरी अष्टदल लेखेको तामाको थालीमा ब्रह्मा–विष्णु–महेशको पूजा गरिन्छ ।
पुराणका अनुसार यस दिनमा गरिएका सबै सत्कर्मको अक्षय पुण्य प्राप्त हुन्छ । जप, तप, होम, यज्ञलगायत कुनै पनि शुभ कार्य गर्न अक्षय तृतीयाका दिनलाई उत्तम मानिन्छ । वर्षको सबभन्दा पवित्र दिन हुनाले अक्षय तृतीयालाई ‘बिघ्ननाशक दिन’ पनि भनिन्छ । यस दिन भगवानको पूजा, आराधना, दान गर्ने र सातु, सर्वत खुवाउने चलन छ ।
धार्मिक दृष्टिले पुण्यका साथै सुस्वास्थ्य र परोपकारका दृष्टिबाट यो दिन उपयोगी र महत्वपूर्ण मानिन्छ । ज्योतिषीय मान्यतानुसार वर्षभर विभिन्न विशेष योग पर्छन् । तीमध्ये एउटा महायोग हो, अक्षय तृतीया । यो महायोग वर्षमा केवल एकपटक मात्र पर्छ । हिन्दू काल गणनाअनुसार चार स्वयंसिद्ध मुहूर्त छन् । तीमध्ये एक हो ‘अक्षय तृतीया’ । अक्षयको अर्थ हुन्छ कहिल्यै क्षय नहुने अर्थात् सधैं स्थायी रहने ।
भनिन्छ यस शुभ तिथिमा गरिएका दान–पूजन–हवन वा कुनै पुण्य कार्य अक्षय फल प्रदान गर्ने किसिमका हुन्छन् । यो एक स्वयंसिद्ध मुहूर्त हो । यो कुनै पनि शुभ कार्य गर्नका लागि सबभन्दा राम्रो तिथि हो । सनातन वैदिक धर्ममा यो पर्व देवाधिदेव महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको दिनका रूपमा परिचित छ । कतिपयले यो दिन अन्य शुभकर्मजस्तै विवाह गर्न पनि साइत हेरिरहनुनपर्ने विश्वास गर्छन् । पञ्चांग निर्णायक समितिबाट स्वीकृति लिएका पात्रोमा भने आज विवाहको साइत छैन ।
आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । मत्स्य पुराणलगायत ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ । यसै दिन त्रेता युगको शुरुवात भएको मानिन्छ ।
शिव र पार्वतीका बीच विवाह पनि वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाकै दिन भएको शास्त्रमा उल्लेख छ । आज माटो, तामा वा पित्तलको घडामा सर्वत राखेर ब्राह्मणलाई दान गरिन्छ । यस्तो घडामा ब्रह्मा, विष्णु र शिव तीनै स्वरुपका भगवान्को निवास हुने मान्यता छ ।
यस दिन बिहानै स्नान गरी लक्ष्मीनारायणको पूजा गर्ने परम्परा छ । अक्षय तृतीयाकै दिन भगवान् विष्णुको सातौँ अवतारका रुपमा परशुरामको जन्म जमदग्नि र रेणुकाको सुपुत्रका रुपमा भएको थियो । यसैले आजको दिनलाई परशुराम जयन्ती भनी मनाउने चलन पनि छ ।
जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवम् सक्खर हाली सर्वत बनाएर ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने धार्मिक विश्वास छ । आजका दिन घरमा आउने सबैलाई जौको सातु र सर्वत खुवाइन्छ । यसो गरेमा भगवान् विष्णु खुशी हुनुहुने विश्वाससमेत छ ।
यस अवसरमा निराहार व्रत बसी विष्णुलाई अक्षताले पूजा गरेमा राजसूर्य यज्ञको फल प्राप्त हुने मत्स्य पुराणमा वर्णन गरिएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।
सर्वत र सातु दान गर्नेले यो लोकमा सुख र परलोकमा सद्गति पाउने धार्मिक विश्वास छ । यसरी दान गर्नेका पितृ पनि प्रसन्न हुने वैदिक ग्रन्थमा व्याख्या गरिएको छ । समुद्रमा पानी सकिए पनि आजका दिन दान गर्ने पुण्य नसकिने अध्यक्ष गौतमले बताए ।
भविष्य पुराणमा पनि आजका दिन गरिएको दान अक्षय हुन्छ भनी व्याख्या गरिएको छ । वैशाखको गर्मीमा सक्खरको सर्वत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको महत्व बढेको हो ।





















Discussion about this post