काठमाडौं/श्रावण ७ गते। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लघुवित्त वित्तीय संस्थाका विभिन्न मागहरु सम्बोधन गरेको लघुवित्तका जानकारहरु बताउँछन् ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले लघुवित्तलाई ऋणपत्र निष्काशन गर्न, दुर्गम तथा पिछडिएको क्षेत्रमा वित्तीय सेवा प्रवाह गर्न प्रोत्साहन गर्ने, २ प्रतिशत बिन्दुसम्म मात्र प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्नुपर्ने लगायतका व्यवस्था गरेको छ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई विभिन्न व्यवस्था गरको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य बमोजिम लघुवित्त वित्तीय संस्थालाई सामाजिक बैंकिङ्ग अवधारणाअनुरुप दुर्गम तथा पिछडिएको क्षेत्रमा वित्तीय सेवा प्रवाह गर्न प्रोत्साहन गर्ने भएको छ ।
बैंक तथा वित्तीय संस्थाले लघुवित्त वित्तीय संस्थालाई विपन्न वर्ग कर्जा अन्तर्गत थोक कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशत बिन्दुसम्म मात्र प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
साथै लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो पुँजीकोष बराबरको ऋणपत्र जारी गरी स्रोत परिचालन गर्न सक्ने, आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य बमोजिम नेपाल सरकारको समेत लगानी रहेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको पुनरसंरचना भएपश्चात पुँजी संरचना र संस्थागत क्षमता अभिवृद्धिका लागि सहजीकरण गर्ने राष्ट्र बैंकको मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।
आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यबमोजिम कृषि कर्जामा सहज पहुँच पुर्याउने उद्देश्यले स्थापना हुने लघुवित्त कोषको कानूनी, संस्थागत र कार्य संचालन ढाँचाअनुसार कार्यान्वयनमा सहजीकरण गरिनेछ ।स्रोत-विकास न्युज बाट





















Discussion about this post