काठमाडौं / माघ १६ गते। राजस्व छली मुद्दामा पक्राउ परेका बाराको परवानीपुर–१ का उमाशंकर रायभर आइतबार कारागारमुक्त भएका छन् ।
पाटन उच्च अदालतको आदेशअनुसार ७५ लाख रुपैयाँ धरौटी बुझाउन नसरेर कैदभुक्तान गरिरहेका उनी सर्वाेच्च अदालतको आदेशपछि रिहा भएका हुन् ।
सर्वाेच्च अदालतले उनको धरौटी रकम २५ हजारमा झारिदिएपछि रायभर कारागारमुक्त भएका हुन् । ११ महिनापछि नख्खु कारागारबाट उनी रिहा भएका हुन् ।
ब्लुक्रस ट्रेडर्समार्फत १५ करोड ८७ लाख रुपैयाँ र जेएन सप्लायर्समार्फत १२ करोड ३ लाख रुपैयाँ छलेको अभियोग रायभरमाथि राजस्व अनुसन्धान विभागले लगाएको थियो ।
विभागले गरेको छानबिनमा मिश्रले अरू युवाको समेत कागजात दुरुपयोग गरी ९ वटा कम्पनी खोलेर एक अर्ब चार करोड रुपैयाँ राजस्व छली गरेको देखिएको थियो ।
रायभरले आफ्ना कागजात र हस्ताक्षर दुरुपयोग भएको बताए पनि उच्च अदालतले गत वर्ष फागुन १९ मा उनीसँग ७५ लाख रुपैयाँ धरौटी मागेको थियो ।
त्यस आदेशको विरुद्ध सर्वोच्च अदालत पुगेका रायभरलाई शुक्रबार न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको इजलासले २५ हजार रुपैयाँ मात्र धरौटी स्वरूप माग गर्ने आदेश गरेको थियो ।
रायभरका तर्फबाट निःशुल्क रुपमा अधिवक्ताहरू राधिका खतिवडा, टीकाराम भट्टराई, सुनील पोखरेल, जनार्दन बन्जाडे र अन्जना अर्यालले बहस–पैरवी गरिदिएका थिए ।
सर्लाहीका सरोजकुमार मिश्रले रायभरका नागरिकताको फोटोकपी, फोटो, हस्ताक्षर र ल्याप्चे दुरुपयोग गरी कम्पनी खोलेर राजस्व छली गरेका थिए ।
जागीर लगाइदिने भन्दै मिश्रले रायभरको नागरिकताको फोटोकपीसहित दुरुपयोग गर्दा उनी पक्राउ परेर जेल परेका हुन्।





















Discussion about this post