जनकपुरधाम/पुस १८ गते । पूर्व-पश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका पोर्ताहामा सडक अबरुद्ध गरी बसेका जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ। प्रहरीले रबरको गो’ली चलाउँदा जनमत पार्टीका ५ कार्यकर्ता घाईते भएका छन् ।

घाईते हुनेहरुमा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र संजय साह रहेका छन् । उनीहरुको उपचार जनकपुरस्थित प्रादेशिक अस्पतालमा भइरहको छ । २ जनाको गम्भीर र ३ जनाको अवस्था सामान्य रहेको बुझिएको छ ।

यस्तै झडपका क्रममा नेपाल प्रहरीका एक जना र सशस्त्र प्रहरीका एक गरी दुई जनासमेत घाइते भएको प्रवक्ता एवं डीएसपी बस्नेतले बताए ।
आइतबार बिहानैदेखि सडक जाम गरी बसेका जनमत कार्यकर्तामाथि प्रहरीले गोली प्रहार गरेको हो । धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार ११ राउण्ड रबरको गोली र १६ राउण्ड अश्रु ग्यास प्रहार गरिएको हो ।बिहानैदेखि बन्द रहेको पूर्वपश्चिम राजमार्ग भने सञ्चालनमा आइसकेको उनले बताए ।

किसानलाई समयमै मल खाद्य उपलब्ध गराउनुपर्नेसहितका माग राख्दै जनमत पार्टीले गत पुस १५ गतेदेखि मधेशका जिल्लामा पूर्व पश्चिम राजमार्गमा चक्काजाम गर्दै आएका छन् । उनीहरुले चक्काजाम गर्दा प्रदेश २ का जिल्लामा प्रायः प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप हुँदै आएको छ ।














Discussion about this post