शैलेन्द्र महतो/मंसिर १७ गते।नेकपा (एकीकृत समाजवादी) प्रदेश २ की प्रदेश सांसद मन्जु यादवले अन्तर जातीय प्रेम विवाह गरेकी छन्।
महोत्तरीको भंगहा नगरपालिका वडा नं ९ अजगेवाका सूर्यनारायण ठाकुर (बरही) सँग शुक्रबार सांसद यादवको विवाह सम्पन्न भएको हो। मन्जु र सूर्यनारायणले आफ्नो २० वर्षे प्रेम सम्बन्धलाई दाम्पत्य जीवनमा ढालेका हुन्।

सांसद यादवको घर पनि भंगहा नगरपालिका ९ हरिणमरीमा पर्छ। सूर्यनारायण र मन्जुको घर झण्डै दुई किलोमिटरको दूरीमा छ। दुवैजना विद्यालयमा कक्षा १ देखि ७ सम्मसँगै पढेका थिए।
यद्यपी २०५८ सालमा जनकपुरस्थित राराब कलेजमा दुवै जना पढ्न थालेपछि सूर्यनारायणसँग मन्जुको प्रेम बसेको थियो।
समाजमा विद्यमान जातपातको भेदभाव तथा दाइजो प्रथा न्यूनीकरण गर्ने उद्देश्यले अन्तरजातीय प्रेम विवाह गरेको सांसद मन्जु यादवले बताइन्।
पढाइका साथै समाज रुपान्तरणका लागि राजनीतितिर लाग्दा लामो समय पश्चात् घरपरिवारको चाहना अनुसार विवाह गरेको सांसद यादको भनाइ छ।
सांसद यादवका बुबा रमेश यादव पूर्व शिक्षक हुन्। आफ्नो प्रेम, पढाइ र राजनीतिमा बुबा, भाइ, आमा सबैले सहयोग गरेको उनले बताइन्।

‘हामी दुईको प्रेमलाई मेरो घरपरिवारले स्वीकारेको थियो। बुबा, आमा, भाइ सबैले सपोर्ट गर्नु भएको थियो। तर, आमाको सपना थियो सांस्कृतिक मूल्यमान्यता अनुसार पारम्परिक विवाह गर्नुपर्छ। त्यस कारण आमाको चाहना पूरा गरेकी हुँ’ सांसद यादवले भनिन्।
स्रोत साभार-नेपाल खबर अनलाईन बाट














Discussion about this post