शुभ नारायण यादव/सप्तरी/साउन २६ गते ।पछिल्लो समय अत्याधिक गर्मीका कारण राजविराजस्थित अस्पताल र निजि क्लिनिकहरुमा बिरामीको चाप बढेको छ ।
गजेन्द्र नारायणसिंह अस्पताल आकस्मिक कक्षका इन्चार्ज धनेश्वर साहका अनुसार ज्वरो, रुघाखा, खोकी, झाडापखालाका बिरामीका साथै सर्पदंशमा परेका घाइतेको चाप बढेको हो ।
दैनिक सर्पदंशको मात्रै ५÷६ जना घाइते आउने गरेकोमा अहिले ज्वरो, रुघा, खोकी र झाडापखालाका दैनिक १० देखी २५ जनासम्म बिरामीहरु आउने गएको उहाँको भनाइ छ ।
बिरामीको चाप बढ्दै गएपछि बेडको अभावमा भुईमै भएपनि उपचार भइरहेको तथा बेड व्यवस्थापन गरि उपचार सेवा प्रदान गरिरहेको उहााले बताउनुभयो ।
यस्तै जिल्लाको छिन्नमस्ता र युनिक अस्पतालका साथै निजी क्लिनिकहरुमा समेत बिरामीको चाप बढेको सम्बद्ध चिकित्सकहरुले बताएका छन् ।
गर्मी मौसममा भाइरलको संक्रमण बढी हुने भएकाले बिरामी बढ्ने गरेको गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाको भनाइ छ ।
डा. झाले गर्मी मौसममा यस्ता रोगबाट बच्नका लागि विशेष गरि पानी उमालेर मात्र पिउने, दिशापिसाब गरिसकेपछि राम्ररी हात धुने, बासी सडेगलेका खानेकुरा नखाने, झाडापखाला लागिसकेपछि पर्याप्त मात्रामा जिवन जल पिउने र रोगको लक्षण देखापर्ना साथ नजिकको स्वास्थ्य चौकी र अस्पतालमा सम्पर्क गरेर औषधी खानुपर्ने सुझाव समेत दिएका छन् ।














Discussion about this post