जनकपुरधाम,असार १२ गते।सप्तरीका १८ मध्ये १३ स्थानीय तहले तोकिएकै समयमा नीति तथा कार्यक्रम र बजेट ल्याएका छन्। भने ५ स्थानीय तहले बजेट ल्याउन सकेका छैनन्।
स्थानीय स्तरमा राजनीतिक खिचातानी र आवश्यक तयारी नगरेका कारण सप्तरीको हनुमाननगर कंकालिनी र बोदेबर्साईन नगरपालिका तथा तिरहुत, बलान बिहुल र छिन्नमस्ता गाउँपालिकाले बजेट ल्याउन सकेका छैनन्।
पालिकामा देखिएको राजनीतिक विवादका कारण नगरसभा समयमै गर्न नसकेको हनुमाननगर कंकालिनीका एक कर्मचारीले बताए।
प्रदेश अन्य पालिकाहरु आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रम र बजेटसहितको नगर तथा गाउसभा गरिरँहदा सप्तरीको छिन्नमस्ता गाउँपालिकामा भने चालु आर्थिक वर्ष ०७७/७८ कै गाउँसभा अझै गर्न सकेको छैन।
गाउँपालिका अध्यक्ष सुर्यनारायण मण्डल र अन्य जनप्रतिनिधीबीचको आन्तरीक विवादका कारण गत वर्षको असार १० गते नै हुनुपर्ने आर्थिक वर्ष २०७७/७८ को गाउँसभा अझै हुन नसकेको हो।
आर्थिक वर्ष ०७७/७८ कै गाउँसभा नहुँदा छिन्नमस्ता गाउँपालिकामा चालु आर्थिक वर्षमा विकास निर्माण र सर्सत अनुदान सम्बन्धी रकम खर्च हुन सकेको छैन।
लेखापाल बालगोबिन्द साहका अनुसार कर्मचारीको तलव र सामाजिक सुरक्षा भत्ता वाहेक कुनै पनि रकम भुक्तानी भएको छैन। उनका अनुसार चालु आर्थिक वर्षको ससर्त अनुदानको ३ करोड रुपैयाँ फ्रिज हुने सम्भावना बढेर गएको छ।
गतवर्ष नै हुनुपर्ने चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सहितको गाउँसभा अझै हुन सकेको छैन।
सिरहाको १२ स्थानीय तहले मात्रै ल्याए बजेट , ५ स्थानीय तहको नगर तथा गाउँसभा भने अझै अन्यौलमा
१७ स्थानीय तह रहेको सिरहाका १२ वटा स्थानीय तहले मात्र समयमै बजेट प्रस्तुत गरेका छन्। ५ स्थानीय तहको नगर तथा गाउँसभा भने अझै अन्यौलमा छ। कल्याणपुर नगरपालिका, औरही गाउँपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका, नरहा गाउँपालिका र विष्णुपुर गाउँपालिकाले बजेट ल्याउन नसकेको सम्बन्धित पालकाका प्रतिनिधिले जानकारी दिए।
सिरहाको लहान नगरपालिका, धनगढीमाई नगरपालिका, गोलबजार नगरपालिका, कर्जन्हा नगरपालिका, सिरहा नगरपालिका र अर्नमा गाउँपालिकाले बिहीवार एकै दिन नगर तथा गाउँसभामार्फत आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट पारित गरेका हुन्।
जिल्लाको गोलबजार नगरपालिकाले ८१ करोड पाँच लाख ७५ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ। नगरपालिकाले चालुतर्फ ४१ करोड २२ लाख ८८ हजार र पूँजीगततर्फ ३९ करोड ८१ लाख ७८ हजार रुपैयाँ बजेट विनियोजन गरेको नगरपालिकाका प्रवक्ता उमेश बरालले जानकारी दिए।
सिरहा नगरपालिकाको नगरसभाले ७९ करोड ४० लाख १८ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ। सुखीपुर नगरपालिकाले ४९ करोड ३३ लाख ६५ हजार, मिर्चैया नगरपालिकाले ६८ करोड ४९ लाख ११ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ।





















Discussion about this post