विनय यादव/सिरहा/जेठ १६ गते।सिराहामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा फितलो हुँदै गएको छ । गत ३१ वैशाख राति १२ बजेदेखि २१ जेठसम्मका लागि जारी निषेधाज्ञाको अवधि लम्बिँदै जाँदा निषेधाज्ञा उल्लंघन गर्ने क्रम समेत बढेको छ ।
जिल्लाका मुख्य बजार लहान, सिराहा, मिर्चैया, गोलबजारसहितका शहर तथा ग्रामीण क्षेत्र सबैतिर विस्तारै मानिसहरूको चहलपहल बढिरहेको छ । निषेधाज्ञामा घरबाट बाहिर निस्कने र समूहमै घुम्ने प्रवृत्ति पनि बढेको छ । अत्यावश्यक खाद्यवस्तु बिक्रीवितरण गर्ने पसलहरू खोल्न समयसीमा तोकिएको छ ।
तर, समयसीमाको उल्लंघन मात्रै होइन, सामाजिक दूरी कायम गर्ने र आवश्यक सुरक्षाका उपायहरूसमेत अपनाएको पाइँदैन । ग्रामीण क्षेत्रमा त पछिल्ला दिनमा न कुनै सामाजिक दूरी छ, न सर्तकता । हटिया चलिरहेकै छन् । एक ठाउँबाट अर्को ठाउँको आवागमन रोकिएको छैन ।
स्वास्थ्यकर्मी, कर्मचारी, घुम्ती टोली, अत्यावश्यक सामग्री टोली, स्थानीय तहको टोली, श्राद्धकर्मलगायतका फर्जी ब्यानर टाँसी सवारीसाधन गुडेका छन् । बिहान हुनेबित्तिकै सिराहाका मुख्य बजारका राजमार्ग तथा बाटोमा मोटरसाइकल, साइकल र पैदलयात्रीको बाक्लो उपस्थिति देखिन थाल्छ ।
औषधि पसलमात्र होइन, साँझका बेला मदिरा पसल पनि खुल्न थालेका छन् । यसरी निषेधाज्ञाका बीच पसल खुल्दा कालोबजारी पनि ह्वात्तै बढेको छ । तर, यसमाथि न सम्बन्धित निकायको ध्यान पुग्न सकेको छ, न त प्रहरी प्रशासनको सक्रियता देखिन्छ ।
निषेधाज्ञा उल्लंघनका घटनाले कोरोना संक्रमणको जोखिमलाई बढाइरहेको छ । सिराहा छिमेकी मुलुक भारतसँग सीमा जोडिएको जिल्ला भएकाले सीमानाकामा व्यापक सुरक्षाकर्मी परिचालन भएपनि मानिसहरू भित्रिने क्रम रोकिएको छैन ।
ज्यानै लिने महामारीमा पनि नागरिक सचेत नहुनु दुःखद रहेको पत्रकार देवकुमार यादव बताउँछन् । नागरिक सचेत नभएसम्म महामारी नियन्त्रण सरकार र प्रशासन मात्रैले गर्न नसक्ने उनको भनाइ छ । ‘कुनै घरमा विपत् आइपर्दा जसरी हामी सबै सदस्य मिलेर सामना गर्छौं,’ उनले भने, ‘त्यसरी नै यो महामारीसँग लड्न हामी सबैमा गम्भीरता बोध हुन जरुरी छ ।’
महामारी नियन्त्रणमा सरकारी भूमिकाप्रति पनि उनको असन्तुष्टि छ । संघ, प्रदेश र स्थानीय सरकार सबै कोरोना महामारी नियन्त्रणमा जस पाउने भूमिका खेल्न नसकेको उनले बताए । ‘त्यसमा पनि यो महामारी नियन्त्रणमा स्थानीय सरकार गम्भीर बनेको भए केही हदसम्म जोखिम घट्ने थियो,’ उनले भने, ‘तर, उनीहरू गैरजिम्मेवार जस्तो देखिए ।’















Discussion about this post