जनकपुरधाम,चैत २९ गते।महोत्तरीमा नेपालबाट भारततर्फ अवैध रुपमा पैठारी गर्न लागेको मदिरा प्रहरीले बरामद गरेको छ।
जिल्लाको जलेश्वर नगरपालिका वडा नं. ३ स्थित नेपालबाट भारततर्फ मदिरा निकासी पैठारी गर्न लागेको गोप्य सूचनाको आधारमा ठुलो मात्रामा मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक रञ्जन मिश्रले जानकारी दिए।
प्रहरी निरीक्षक मिश्रको कमाण्डमा खटेको प्रहरी टोलीले नेपाल–भारतको दशगजा क्षेत्रबाट मदिरा बरामद गरेको हो। मदिरा पैठारी गर्नेहरु फरार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। बरामद गरेको मदिरा आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालयमा पठाउने जनाइएको छ।यस्तै जलेश्वर नगरपालिका वडा नं. २ र ९ मा अवैध रुपमा सञ्चालनमा रहेको घरेलु मदिरा भट्टी नष्ट गरिएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरी र अस्थाइ प्रहरी पोष्ट नगरपालिकाबाट खटेको संयुक्त प्रहरी टोलीले ५ वटा भट्टी, उत्पादनमा प्रयोग भएको ५ वटा मेसिन, घरेलु तयारी मदिरा ५० लिटर, कच्चा पदार्थ २ हजार लिटर, प्लाष्ट्रिकको ड्रम १५ वटा र ५ वटा भाँडो नष्ट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक मिश्रले जानकारी दिएका छन्।














Discussion about this post