जनकपुरधाम/साउन ९ गते । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले हरेक नागरिकले आफ्नो पेसा र व्यवसायप्रति गर्व गर्न सक्ने वातावरण निर्माण हुनु नै वास्तविक लोकतन्त्रको आधार भएको बताएका छन्।
शनिबार जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र तथा प्रहरी आवास भवन उद्घाटन गर्दै उनले लोकतन्त्र केवल संविधान र कानुनमा सीमित नभई व्यवहारमा पनि लागू हुनुपर्नेमा जोड दिए।
आईजीपी कार्कीले पसले, मजदुर, प्रहरी, इलेक्ट्रिसियन, भान्से वा अन्य कुनै पनि पेसा सानो–ठूलो नहुने उल्लेख गर्दै सबै श्रम र पेसाको समान सम्मान हुनुपर्ने बताए। उनले प्रहरी सेवामा आउने प्रत्येक सेवाग्राहीलाई बिना कुनै विभेद समान व्यवहार गर्न निर्देशन दिँदै नयाँ भवनले सेवाग्राहीलाई सहज सेवा प्रवाह र प्रहरीको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।
उद्घाटनपछि आईजीपी कार्कीले नवनिर्मित भवनहरूको अवलोकन गर्नुका साथै जिल्ला प्रहरी कार्यालय परिसरमा वृक्षारोपण पनि गरेका थिए। कार्यक्रममा भवन निर्माणमा सहयोग पुर्याउने विभिन्न व्यक्तित्वलाई प्रशंसापत्र प्रदान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रले संवेदनशील वर्गप्रति राज्यको दायित्वलाई अझ प्रभावकारी, संवेदनशील र परिणाममुखी ढंगले निर्वाह गर्न महत्वपूर्ण आधार तयार गरेको बताए। आगामी दिनमा यस केन्द्रबाट सहज, सुरक्षित, सम्मानजनक, पीडितमैत्री, पीडित–केन्द्रित, व्यावसायिक तथा प्रविधिमैत्री सेवा प्रवाह हुने विश्वास उनले व्यक्त गरे।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरू समाजका अत्यन्त संवेदनशील तथा जोखिममा रहेका वर्ग भएकाले उनीहरूमाथि हुने अपराध न्यूनीकरण गर्दै न्यायमा सहज पहुँच सुनिश्चित गर्नु सबै सरोकारवाला निकायको साझा दायित्व भएको उनको भनाइ थियो। साथै, भौतिक पूर्वाधार निर्माणमा UNOPS ले खेलेको सहयोगी भूमिकाको प्रशंसा गर्दै नवनिर्मित भवनहरूले प्रहरी र सेवाग्राहीबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ओमप्रसाद अधिकारीले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए भने UNOPS का अपरेसन कोर्डिनेटर तथा अवकाशप्राप्त प्रहरी वरिष्ठ उपरीक्षक इन्द्र न्यौपानेले स्वागत मन्तव्य राखेका थिए। UNOPS का सिनियर इन्जिनियर शिशिर उपाध्यायले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए।
UNOPS को सहयोगमा ३ करोड ९९ लाख ७६ हजार ५ सय ३ रुपैयाँ १६ पैसाको लागतमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र र प्रहरी आवास भवन निर्माण सम्पन्न भएको जनाइएको छ।
उद्घाटन समारोहमा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ओमप्रसाद अधिकारी, नेपाली सेनाको मध्यपूर्वी पृतना मुख्यालय बर्दिबासका उपरथी भुवन खत्री, सशस्त्र प्रहरी बल नेपाल नम्बर–२ छिन्नमस्ता बाहिनीका सशस्त्र प्रहरी नायव महानिरीक्षक विष्णु प्रसाद भट्ट, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, राष्ट्रिय अनुसन्धान विभाग प्रदेश कार्यालयका अनुसन्धान निर्देशक माधवप्रसाद तिमल्सिना, UNOPS का प्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुख, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।















Discussion about this post