काठमाडौँ,माघ १६ गते।कोरोना संक्रमणका कारण लकडाउनसँगै बन्द गरिएका चीन र भारततर्फका ३० वटा नाकालाई सरकारले खुला गरेको छ । गृह मन्त्रालयले मन्त्रिपरिषद् निर्णयका आधारमा बिहीबार जिल्ला प्रशासन कार्यालयलाई नाका खुलाउन सर्कुलर पठाएको हो ।
यसअघि १४ नाका खोलिएकामा माघ ११ को मन्त्रिपरिषद्ले थप १६ नाका खुलाउने निर्णय लिएको हो । भारततर्फका धेरै नाका बन्द हुँदा सीमाका नेपालीले घरायसी सामान खरिद, नातागोता भेटघाट र खेतीपातीका लागि समेत सहजै ओहोरदोहोर गर्न पाएका थिएनन् ।
गत चैत १० देखि नेपाल–भारत सीमा नाका सिल गरिएकामा भारततर्फका १३ र चीनतर्फको एक नाका गत साउन २६ मा खुला गरिएको थियो । भारततर्फ १ हजार ८ सय ८० किमि सीमामध्ये तराई/मधेसका १० र हिमाली/पहाडी क्षेत्रका तीन तथा चीनतर्फ रसुवागढी/केरुङ नाकाबाट आउजाउ अनुमति दिइएको थियो । सीमा नाका निर्बाध खुलाउने वा आउजाउका निम्ति निश्चित नाका तोक्ने भन्नेमा गृह, परराष्ट्र, अर्थ र स्वास्थ्य मन्त्रालयका अधिकारीबीच लामो छलफल र समीक्षा भएको थियो ।
गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेको नेतृत्वमा यससम्बन्धी छलफल र समीक्षापछि थप १६ नाका खुलाउने प्रस्ताव गृहमन्त्री रामबहादुर थापाले मन्त्रिपरिषद्मा पेस गरेका थिए । पछिल्लोपटक खोलिएका नाकाबाट नेपालीले भारतीय बजार पुगी तोकिएको मापदण्डभित्र रहेर घरायसी सामान खरिद गर्न पाउनेछन् ।
गृह मन्त्रालयका अनुसार खजुरगाछी (झापा), भन्टाबारी (सुनसरी), कुनौली (सप्तरी), जटही (धनुषा), इनर्वा (धनुषा), भिट्टामोड (महोत्तरी), मलंगवा (सर्लाही), बंकुल (रौतहट), मटिअर्वा (बारा), सिम्रौनगढ (बारा), त्रिवेणी (पूर्वी नवलपरासी), महेशपुर (पश्चिम नवलपरासी), तौलिहवा (कपिलवस्तु), कोइलाबास (दाङ), सुरजपुर (बर्दिया) र तातोपानी (सिन्धुपाल्चोक) नाका खुला गरिएको हो । यसअघि पशुपतिनगर (इलाम), काँकडभिट्टा (झापा), रानी (मोरङ), माडर (सिरहा), गौर (रौतहट), वीरगन्ज (पर्सा), रसुवागढी (रसुवा), कृष्णनगर (कपिलवस्तु), बेलहिया (रूपन्देही), जमुनाह (बाँके), गौरीफन्टा (कैलाली), गड्डाचौकी (कञ्चनपुर), खलंगा/पुलाघाट (दार्चुला) र झुलाघाट (बैतडी) बाट मात्रै सर्वसाधारणले सहज आवागमन गर्न पाउँथे ।
गृहले खुला गरिएका सबै नाकाबाट हुने आवागमनको जनस्वास्थ्यसहित अभिलेख राख्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार यी नाका हुँदै नेपालीले निर्बाध र विदेशीले निश्चित सर्त र बन्देज पालना गरेर आवागमन गर्न पाउने छन् । भारततर्फका नाकाबाट भारतीय नागरिक मात्रै र चीनतर्फका नाकाबाट चीनका नागरिक मात्रै आउन पाउने छन् । भारत र चीनबाहेक देशका नागरिक हवाई मार्गबाट मात्रै आउन पाउने छन् ।
कोरोना महामारीको त्रास कम भएसँगै सबै नाका खुलाउनुपर्ने दबाबमा सरकार छ तर महामारीका बेला र त्यसपछिको अवस्थामा कस्ता रणनीति अपनाउने भन्नेमा सरकारले ठोस निर्णय लिन सकेको छैन । नाका नखुलेकै कारण चोरबाटो र आर्थिक सेटिङमा आवागमन हुने गरेको आरोप प्रशासन र प्रहरीमाथि लाग्दै आएको थियो ।
गृह मन्त्रालयका प्रवक्ता बुढाले महामारीसँगै बदलिएको जीवनयापन, सीमा सुरक्षा रणनीति तथा जनस्वास्थ्यसम्बन्धी जोखिमलगायतलाई मध्यनजर गरेर बाँकी नाका खुलाउने र व्यवस्थित गर्दै जाने बताए । ‘गृहलाई सुरक्षा तथा सीमा अपराध नियन्त्रण, अर्थलाई राजस्व संकलन तथा स्वास्थ्य मन्त्रालयलाई जनस्वास्थ्यको चिन्ता छ, यी सबै पक्षलाई मध्यनजर गरेर सीमा सिललाई निरन्तरता दिने वा सर्तसहित खुलाउने भन्ने विस्तृत छलफल र समीक्षापछि थप १६ नाकाबाट आवागमन खुलाइएको हो,’ उनले भने, ‘एकैचोटि सबै नाका खुल्ने अवस्था छैन । औचित्य र आवश्यकताका आधारमा निर्णय हेरफेर हुँदै जान्छ ।’





















Discussion about this post