सप्तरी । मधेशी अधिकारका लागि संगठित अभियानको नेतृत्व गरेका तत्कालिन नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष स्व. गजेन्द्र नारायण सिंहको १९ औं पुण्यतिथि दिवस शनिबार मधेशका जिल्लाहरुमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । यसै क्रममा सप्तरी सदरमुकाम राजविराजमा मधेशवादी नेता सिंहको १९ औं पुण्यतिथिका अवसरमा गजेन्द्र नारायण सिंह अध्ययन केन्द्र सप्तरीले विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष एवं मधेशका प्रणेता समेत भनिने स्व. सिंहको पुण्यतिथिको अवसरमा उनको शालिकमा माल्यार्पण, उनका सहर्मीहरुलाई सम्मान तथा मञ्चीय कार्यक्रम गरेर उनको राजनीतिक योगदानको सम्झना गर्दै १९ औं पुण्यतिथी मनाइएको हो ।
शनिबारै जिल्ला समन्वय समितिको परिसर भित्र नवनिर्मित गजेन्द्र नारायण सिंह अध्ययन केन्द्रको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टी नेपालका वरिष्ट नेता राजेन्द्र महतोले मधेशी र पिछडिएका समुदायका अधिकारका लागि स्व. सिंहले पु-याएको योगदान अविस्मरणीय रहेको उल्लेख गरे ।
मधेशी, आदिवासी, जनजाती, मुश्लिम, सिमान्कृत वर्ग लगायतको अधिकार र पहिचानका लागि ज्यानको बाजी लगाउँदै गजेन्द्र बाबुले मधेशी राजनीतिमा पु¥याएको योगदान भावी पुस्ताका लागि अनुकरणीय रहेको उनको भनाई थियो ।
केन्द्रका जिल्ला अध्यक्ष प्रभाकर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रियसभा सदस्यद्वय मृगेन्द्र कुमार सिंह यादव, शेखर सिंह, प्रदेशसभा सदस्य मनिष सुमन, विदेश्वर यादव, नेत्रबिक्रम साह, विघटित प्रतिनिधिसभा सदस्य चन्द्रकान्त चौधरी, जसपा नेता केशव झा, अध्ययन केन्द्रका केन्द्रिय अध्यक्ष अनिल महासेठ, केन्द्रिय सदस्य दिनेश यादव लगायतले पनि सम्बोधन गर्दै स्व. सिंहको राजनीतिक योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा स्वागत गित तथा नृत्य स्थानीय कलाकर लक्की झा तथा मैथिली साहित्यकार देवेन्द्र मिश्रले कविता वाचन मार्फत स्व. सिंहको योगदानबारे चर्चा गरेका हुन् ।
उक्त कार्यक्रममा स्व. सिंहका सहकर्मी हरेकृष्ण प्रसाद सिंह, राजेन्द्र यादव, चन्द्रशेखर झा, बेचन यादव, खुशिलाल मण्डल, शैलेश चौधरी लगायत तीनदर्जन भन्दा बढी व्यक्तित्वहरुलाई प्रमुख अतिथि महतोले दोसल्ला तथा कदरपत्रबाट समेत सम्मान गरेका छन् ।














Discussion about this post