सप्तरी । हुलाकी सडक आयोजना अन्तर्गत सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ स्थित कठौना–पातो लिंक रोडमा पर्ने खडक खोलामा गर्ने भनिएको पुल निर्माण कार्य भारतीय सुरक्षाकर्मीको अवरोधका कारण विगत एक महिनादेखि ठप्प भएको छ । सुरक्षाको सवाल भन्दै भारतको मधुवनी जिल्ला अन्तरगत करियौतस्थित एसएसबीले आफूहरुलाई यसबारे भारतीय सरकारको तर्फबाट कुनै जानकारी अथवा निर्देशन नआएकोले तत्काल निर्माण कार्य रोक्न भनेपछि काम अवरुद्ध भएको हो ।
हुलाकी आयोजनाले ८ माघ २०७६ मा इलाइट कन्स्ट्रक्सन प्रालि काठमाडौँसँग पुल निर्माणका लागि सम्झौता गरेको थियो । सम्झौता भएपछि कन्स्ट्रक्सनले प्राविधिक कर्मचारी, कामदार र उपकरण ल्याएर काम सुरु गर्न खोज्दा एसएसबीले अवरोध पुर्याएका हुन ।
आफूहरु सीमा क्षेत्रबाट १ सय ९५ मिटर मात्रको दुरीमा रहेको र पुल निर्माण सुरक्षासित समेत जोडिएको विषय हो भन्दै निर्माणस्थलमै पुगेर एसएसबीको टोलीले एक महिनाअघि नै भनेपछि निर्माण कार्य रोक्नु परेको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इन्जिनियर आशुतोष कर्णले बताएका छन् ।

१ सय १२ मिटर लम्बाई तथा ११ मिटर चौडाईको उक्त पुल निर्माणको ठेक्का १८ करोड ३३ लाख रुपैयाँमा काठमाडौंस्थित इलाइट कन्ट्रक्सन प्रालिले पाएको हो । भारतीय गाउँ करियौत र नेपालतर्फका बासिन्दाले सहमति जनाएपछि नेपाल सरकारले ठेक्का लगाएको साइट इन्जिनियरसमेत रहेका कर्णले बताए ।
स्थानियले भने नेपाली भूमीमा भइरहेको निर्माण कार्यमा भारतीय सुरक्षाकर्मीले हस्तक्षेप गर्नु अनुचित भएको बताएका छन् । काम रोकिएको विषयमा मधुवनी जिल्लाका डिएमसँग समेत वार्ता गरि आवश्यक पहल भइरहेको सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताएका छन् । उनले यस बारेमा गृहमन्त्रालयलाई जानकारी गराइसकिएको र परराष्ट्र मन्त्रालयमार्फत दुबै देशबीच छलफल भएर पुल निर्माण कार्य चाडै अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।














Discussion about this post