एजेन्सी,इस्लामावाद । पाकिस्तानमा बलात्कारको घटनामा दोषी ठहर भएका व्यक्तिलाई नपुंसक बनाउने कानुन जारी भएको छ । मंगलबार पाकिस्तानका राष्ट्रपतिले बलात्कारविरोधी उक्त कानुनमा हस्ताक्षर गरेका हुन्। नयाँ कानुनले पाकिस्तानमा बढ्दो बलात्कारको घटनालाई नियन्त्रण गर्न मद्दत पुग्ने बताइएको छ ।
पाकिस्तानको लाहोरमा भएको सामूहिक बलात्कारको घटनापछि सरकारले यस्तो कानुन ल्याएको हो। सेप्टेम्बर ९ मा आफ्ना दुई सन्तानसहित लाहोरतर्फ गइरहेकी एक महिलाको सडक छेउमा दिउँसै बलात्कार भएको थियो । उक्त घटनापछि देशव्यापी रुपमा बलात्कार कानुन परिवर्तन हुनुपर्ने भन्दै आन्दोलन चर्केपछि सरकारले कडा कानुन ल्याएको हो ।
यो अध्यादेशमार्फत् यौन अपराधमा सहभागी व्यक्तिहरुको राष्ट्रिय अभिलेख तयार गरिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पीडितको पहिचान गोप्य राख्नुपर्ने कानुनमा उल्लेख छ। यी मुद्दामा सुनुवाइका लागि विशेष फास्टट्र्याक अदालत गठन हुने छ । यो अदालतले चार महिनामा मुद्दाको फैसला सुनाउने जनाइएको छ ।
Discussion about this post