महोत्तरी।राष्ट्रिय मानव अधिकार आयोगले महोत्तरीको बर्दिवासमा बालिकाको हत्यापछि उत्पन्न परिस्थितिबारे अनुसन्धान सुरु गरेको छ ।
बर्दिबास नगरपालिकाकी ६ वर्षीया बालिका गुलाब साह खातुनको हत्यापछि पक्राउ परेका आरोपितलाई कानूनी कारबाहीको माग गर्दै आफन्त तथा स्थानीयहरूले गरेको आगजनी तथा प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएको थियो ।
आयोगको प्रदेश नं. २ कार्यालय जनकपुरबाट घटनाको स्थलगत अनुगमन भइरहेको प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिएका छन । प्रहरीले चलाएको गोली लागि मंगलबार बर्दिवास नगरपालिकाका सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको थियो ।
आयोगले महिला तथा बालबालिकामाथि हुने हिंसात्मक घटना बढिरहेको भन्दै नागरिकको बाँच्न पाउने अधिकारको रक्षा गर्न सुरक्षा निकाय तथा नागरिक सतर्क र सचेत हुनुपर्ने बताएको छ ।
हिंसात्मक घटनामा संलग्नलाई कानून बमोजिम कारवाही गर्न, कानून हातमा लिन खोज्नेलाई कानूनी प्रक्रियाबाटै नियन्त्रणमा लिन, व्यक्तिको ज्यान जाने गरी बल प्रयोग नगर्न पनि आयोगले आग्रह गरेको छ ।
त्यस्तै घटनाको निष्पक्ष छानविन गरी घटनामा संलग्नहरूलाई कानूनी दायरामा ल्याउन र मृतक तथा पीडितहरूलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराउन आयोगले सरकारलाई आग्रह गरेको छ ।
Discussion about this post