एजेन्सी।यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सलाई ४६ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लेको छ।अंक तालिकाको शीर्ष स्थानबाट मुम्बई इण्डियन्सलाई हटाएर दिल्लीले आफ्नो स्थान बनाएको हो। प्रतियोगितामा पाँचौं जीत निकाल्ने गर्ने क्रममा उसले राजस्थान रोयल्सलाई ४६ रनले पराजित गर्यो ।
शारजाहमा दिल्लीले दिएको १८५ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ दशमलव ४ ओभरमा १३८ रनमै समेटिएको थियो । राजस्थानका लागि राहुल तेवातियाले सर्वाधिक ३८ रन बनाए । त्यसैगरी ओपनर यशश्वी जैसवालले ३४ तथा कप्तान स्टिभ स्मिथले २४ रन बनाए । राजस्थानलाई लक्ष्यअगावै समेट्न दिल्लीका कगिसो रबाडाले ३ विकेट लिए भने रविचन्द्रन आश्विन र मार्कस स्टोइनिसले २ २ तथा एनरिच नोर्त्जे अक्षर पटेल र हर्शल पटेलले १ १ विकेट लिए ।
यसअघि शारजाहमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८४ रन बनाएको थियो । दिल्लीका शिम्रोन हेटमायरले सर्वाधिक ४५ रन बनाए भने मार्कस स्टोइनिसले ३९ रनको योगदान दिए । राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए भने कार्तिक त्यागी, एन्ड्रयु टाइ र राहुल तेवातियाले १-१ विकेट लिए । दिल्लीका २ ब्याट्सम्यान रनआउट भएका थिए ।
जीतसँगै ६ खेलबाट १० अंक बटुलेको दिल्ली अंकतालिकाको शीर्ष स्थानमा उक्लन सफल भएको छ । समान खेलबाट ४ अंक जोडेको राजस्थान सातौं स्थानमा रहेको छ ।
Discussion about this post