काठमाडौं।एसिड आक्रमणकारीलाई कडा सजायको माग गर्दै निरन्तर लडिरहेका अभियन्ता उज्ज्वलविक्रम थापालाई बलिउड अभिनेता अमिताभ बच्चनले बधाई दिएका छन्।नेपालमा कडा कानुन बन्न लागेको थाहा पाएपछि उनले ट्वीट गर्दै नेपालमा तेजाब आक्रमणविरुद्ध कडा कानुन बन्न लागेको थाहा पाउँदा अत्यन्त खुशी लागेकाे बताएका छन् ।
तेजाब आक्रमणका घटनालाई नियन्त्रण गर्न सरकारले विशेष कानुन बनाउने तयारी गरिरहेका बेला अमिताभले उज्ज्वललाई बधाई दिएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले गत साता तेजाब आक्रमणका पिडित, अभियन्तालगायतलाई बोलाएर छलफल गरेका थिए। त्यसक्रममा प्रधानमन्त्री ओलीले विषेश कानुन बनाउने प्रतिबद्धता जनाउँदै तेजाब पिडितको उपचार र जिविकिपार्जनका लागि सरकारले व्यवस्था गर्ने बताएका थिए।
गत वर्ष पर्सामा तेजाब आक्रमणमा परेकी मुस्कान खातुनलाई अमिताभले म्यासेज पठाउँदै हौसला प्रदान गरेका थिए। अमिताभले अध्ययन गरेको सेरउडका कलेजका पूर्व विधार्थीसमेत रहेका उज्ज्वलले नेपाललाई गर्व गर्ने बनाएको भन्दै उनले यस्ता कामलाई कायम राख्न अनुरोध गरेका छन्।
सामाजिक सञ्जाल ट्विटरमा अमिताभले लेखेका छन्- उज्जवल थापा! राम्रो काम गर्याै। पूर्व सेरउडियनका विद्यार्थीसमेत रहेका तिम्रो एसिड पीडितहरूको समस्यालाई उजागर गर्ने मेहेनत साँच्चै सार्थक मोडमा पुगेको छ। तिमीले सेरउड कलेजलाई मात्र होइन, आफ्नो देश नेपाललाई पनि गर्वको अनुभूति गरायौ। हार्दिक बधाइ। राम्रो कामलाई निरन्तरता देउ।’

उज्ज्वलले तेजाब आक्रमणका पिडितको व्यक्तिगत पहलमै संरक्षण गर्दै आएका छन्। अमिताभले बधाई दिएसँगै उज्ज्वललाई सामाजिक सन्जालमा अरुबाट पनि बधाईको वर्षा भएको छ।
Discussion about this post