जनकपुरधाम।कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएकोले धनुषामा निषेधाज्ञाको समयावधि पुनः एक हप्ताका लागि थप गरिएको छ । तर निषेधाज्ञा थपिए पनि निषेधाज्ञा खुकुलो पारिएको छ ।
आईतवार धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जारी गरेको सूचनामा भदौं २८ गते राति १२ बजेदेखि असोज ४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो । तर सूचनामा सिफ्ट अनुसार सबै पसल संचालन गर्ने पाउने, जोर विजोर प्रणाली अनुसार निजी गाडी चलाउने पाउने र कार्यालयहरु संचालन गर्ने निर्णय गरिएको उल्लेख छ ।
नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु बाहेकका अन्य सबै सेवा र स्थलहरु फेरि आगामी ७ दिनसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्लाभर निषेधाज्ञाको समयावधि थपिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
जिल्ला स्तरिय कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको सिफारिस र जिल्ला सुरक्षा समितिको आइतवारको निर्णय अनुसार किराना पसल,फलफुल र तरकारी पसलहरु बिहान ११ बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न पाइने निर्णय गरिएको छ भने निषेधित बाहेक अन्य पसलहरु ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरिएको सूचनामा सैलुन, ब्युटीपार्लर, हटिया, सब्जीमण्डी, जिमखाना, सिनेमा हल, पार्टीप्यालेस तथा सपिङ मलहरु भने बन्द राख्न भनिएको छ ।
Discussion about this post