सप्तरी । जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी र डिएसपी सहित थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा प्रहरी उपरीक्षक र प्रहरी नायव उपरीक्षक सहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
एसपी दुईसाता अघि मात्र सरुवा भएर सप्तरी आएका थिए भने डीएसपी सरुवा भएर काठमाडौं जाने तयारीमा थिए । एसपी धमला पछिल्लो समय जिल्ला सुरक्षा समिति लगायतको बैठकमा सहभागी हुँदै आएका थिए भने तीनदिन अघि मात्र पत्रकार सम्मेलनमा समेत पत्रकारहरुसँग कुराकानी गरेका थिए ।अहिले दुवैजना सेल्फ आइसोलेशनमा रहेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
त्यस्तै गजेन्द्र नारायण सिंह अस्पतालका एक स्वास्थ्यकर्मी र एक सफाईकर्मी, सप्तरी कारागारमा सुरक्षामा खटेका दुईजना सुरक्षाकर्मी, नौ जना कैदीबन्दी तथा राजविराज नगरपालिकाका बिभिन्न वडाका २ गरी १७ जनामा संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
Discussion about this post