लहान । सिराहाको लहान नगरपालिकाका २२ वर्षीय कोरोना भाइरस संक्रमित युवकको उपचारका क्रममा मृत्यु भएको छ । लहान नगरपालिका– ४ गोविन्दपुर मलहन्मा गाउँका २२ वर्षीय कोरोना संक्रमित युवकको उपचारको क्रममा धरानमा मृत्यु भएको हो।
अत्यधिक खोकी, सास फेर्न अप्ठ्यारो, ज्वरो आएपछि उनलाई २ भदौमा उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।
मृतक युवकमा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा सोमबार मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
उनको सोमबार दिउँसो ३ बजे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको भएको हो ।स्रोतका अनुसार मृतक युवक लागूऔषध सेवन गर्दै आएका थिए । उनमा मुटुसम्बन्धी समस्या पनि थियो ।
योसँगै सिरहामा कोरोनाले ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । मिर्चैया नगरपालिका– ४ घर भएका करिब ६० वर्षीय पुरुषको २ भदौमा स्वाब संकलन गर्ने क्रममै मृत्यु भएको थियो । तीन दिनपछि आएको रिपाेर्टमा उनमा कोरोना पुष्टि भएको थियो ।
२९ साउनमा विष्णुपुर गाउँपालिका– १ का ४० वर्षीय पुरुषको मृत्यु भएको थियो । उनको विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । यसअघि २२ साउनमा गोलबजार नगरपालिका– १२ बेतौनाका करिब २३ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । उनी मिर्गौला रोगी थिए ।
Discussion about this post