सप्तरी। खाँडो खोलामा आएको बाढीले तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ स्थित बेल्ही टोलको झण्डै ५० भन्दा बढी घर डुबानमा परेको छ ।सोमबार बिहान आएको बाढीले बेल्ही टोलको ५० भन्दा बढी घर डुवानमा पारेको हो । यस्तै निरन्तरको वर्षाले बेल्ही भन्सार बजार समेत डुबानमा परेको छ । सो ठाउँमा रहेको भन्सार कार्यालय, सशस्त्र तथा नेपाल प्रहरीको चौकी समेत डुबानमा परेको छ । राजविराज–तिलाठी सडकखण्डमा समेत दुई ठाउँमा बाढीले क्षति पु-याएको छ ।
भन्सार बजारको पसलहरु डुबानमा पर्दा स्थानीय ब्यापारीहरुको लाखौंको धनमाल क्षति भएको छ । खाँडो खोलाको बाढीले एक जना पुरुषको शव बगाएर ल्याएको लौनियाका गजेन्द्र मण्डलले बताए । सडेगलेको अवस्थामा फेला परेको शवको पहिचान खुल्न नसकेको तथा पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पतालमा पु-याई आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिए ।
यता बाढीले सो गाउँपालिकाको विभिन्न स्थानमा लगाइएको सयौं विगहा धान खेती जग्गा डुबानमा परेको स्थानियले बताएका छन् ।
Discussion about this post