वीरगञ्ज,जेठ ५ गते । पर्सामा जारी निषेधााज्ञाको अवधि जेठ १३ गतेसम्म लम्बिएको छ । बुधवार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले बैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई चौथोपटक लम्ब्याउँदै जेठ १३ गतेसम्म जारी राख्ने निर्णय गरेको हो ।
पर्सा जिल्लामा नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणमा निषेधाज्ञाको सकारात्मक प्रभाव परेको ठहर गर्दै निषेधाज्ञा जेठ १३ गते राति १२ बजेसम्म जारी राख्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
त्यसैगरी निजि अस्पतालहरुले कोरोना संक्रमितहरुलाई प्रवाह गर्ने सेवा र बिरामीबाट लिने शुल्कका बारेमा समेत अनुगमन टोलीमार्फत अनुगमन गरिने निर्णय बैठकले गरेको छ । यस्तै गृहमन्त्रालयमातहतको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले गरेको परिपत्रअनुसार जिल्लास्थित अस्पतालहरुमा आवश्यक्ता र प्राथमिकताको आधारमा अक्सिजनको आपुर्ति गर्ने पनि बैठकले निर्णय गरेको छ ।
त्यसैगरी नारायणी अस्पतालमा अक्सिजन प्लान्को स्थापनाका लागि टेण्डर प्रक्रिया सम्पन्न भइ सम्झौता भइसकेको हुँदा सम्बन्धित निर्माण व्यवसायीलाई समयमै काम सम्पन्न गर्न ताकेता गर्ने पनि बैठकले निर्णय गरेको वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले जानकारी दिए ।
















Discussion about this post