जनकपुरधाम/मङ्सिर १० गते । पूर्वमन्त्री संजय साहको मुद्दा शीघ्र सुनुवाइ गरी न्यायिक प्रक्रियालाई निष्कर्षमा पु¥याउन माग गर्दै उनका समर्थकहरूले जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाएका छन् ।
वर्षौंसम्म मुद्दाको अन्तिम फैसला हुन नसकेको भन्दै समर्थकहरूले न्यायिक प्रक्रियामा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाएका छन् ।
नेपालमा मुद्दाको तीन वर्षभित्र छिनोफानो गर्ने व्यवस्था रहे पनि साहले १३ वर्षभन्दा बढी समय कारागारमा बिताइसक्दा समेत मुद्दाको अन्तिम टुंगो लाग्न नसकेको उनीहरूको भनाइ छ ।
ज्ञापनपत्र बुझाउने क्रममा रामअशिष दासले लामो समयसम्म मुद्दाको फैसला नहुनु गम्भीर विषय भएको उल्लेख गर्दै आफ्नो नेताको जीवन नै समाप्त पार्ने षड्यन्त्र भइरहेको आशंका व्यक्त गरे । उनले न्यायिक प्रक्रियालाई छिटो अगाडि बढाउन सम्बन्धित निकायसँग मागसमेत गरे ।
समर्थकहरूले अदालतमा वर्षौंदेखि विचाराधीन रहेका मुद्दाहरूको शीघ्र सुनुवाइ र फैसला गर्नुपर्ने माग गरेका छन् । तीन वर्षभित्र मुद्दाको अन्तिम निरूपण गर्ने व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उनीहरूको जोड छ ।
त्यस्तै, खुला इजलासमा हुने सुनुवाइलाई प्रत्यक्ष प्रसारण (लाइभ स्ट्रिमिङ) गर्ने व्यवस्था मिलाउन पनि उनीहरूले माग गरेका छन् । यसले न्यायिक प्रक्रियामा पारदर्शिता कायम गर्नुका साथै आम नागरिकलाई अदालतको कामकारबाहीबारे जानकारी लिन सहज हुने ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्रमार्फत फौजदारी मुद्दाको अनुसन्धान तथा न्याय निरूपणमा फरेन्सिक, नार्को, पोलिग्राफ र ब्रेन म्यापिङजस्ता वैज्ञानिक परीक्षणबाट प्राप्त प्रमाणलाई प्राथमिकता दिनुपर्ने मागसमेत गरिएको छ । साथै, झुटा मुद्दा लगाउने व्यक्तिहरूमाथि निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।
समर्थकहरूले पूर्वमन्त्री साहको मुद्दासहित लामो समयदेखि अदालतमा विचाराधीन रहेका सबै मुद्दाको निष्पक्ष, पारदर्शी र शीघ्र निरूपणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

















Discussion about this post