जनकपुरधाम । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र पत्रकारका पेशागत हकहित सुनिश्चित गर्न माग गर्दै नेपाल पत्रकार महासंघ धनुषा शाखाले सामूहिक गिरफ्तारी आन्दोलन गरेको छ।
नेपाल पत्रकार महासंघको केन्द्रीय सर्कुलरअनुसार आयोजित आन्दोलनमा सहभागी पत्रकारहरूले प्रेस स्वतन्त्रता, पत्रकारको पेशागत सुरक्षा तथा अधिकार संरक्षणलगायतका विषय उठाउँदै सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
महासंघ धनुषा शाखाको कार्यालयबाट सुरु भएको आन्दोलन जिल्ला प्रहरी कार्यालय धनुषा हुँदै जिल्ला प्रशासन कार्यालय पुगेर सम्पन्न भएको थियो। आन्दोलनका क्रममा पत्रकारहरूले आफ्ना माग र सरोकार समेटिएको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेललाई बुझाएका थिए।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी लुइँटेलले महासंघले उठाएका माग तथा सरोकारका विषयप्रति आफू गम्भीर रहेको बताए। उनले पत्रकारहरूले उठाएका मुद्दा र माग तत्काल सम्बन्धित सरोकारवाला निकायसम्म पुर्याउने प्रतिबद्धतासमेत व्यक्त गरे।
नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साहले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, पत्रकारिताको पेशागत मर्यादा र पत्रकारका हकहित संरक्षणका लागि सामूहिक एकता तथा संस्थागत पहल आवश्यक रहेको बताए।
उनले पत्रकारका जायज मागप्रति सम्बन्धित निकायले गम्भीरता नदेखाए थप सशक्त आन्दोलनका कार्यक्रम अघि बढाइने चेतावनी दिए।
नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यक्रमअन्तर्गत देशभरका जिल्ला शाखाहरूमा एकैसाथ सञ्चालन गरिएको यस आन्दोलनको उद्देश्य पत्रकारहरूको पेशागत सुरक्षा सुनिश्चित गर्नु, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गराउनु र पत्रकारितासँग सम्बन्धित विद्यमान समस्या समाधानका लागि सरकार तथा सम्बन्धित निकायलाई दबाब दिनु रहेको महासंघले जनाएको छ।
पत्रकारिताको स्वतन्त्रता र पत्रकारका पेशागत अधिकारको संरक्षणका लागि महासंघले देशव्यापी रूपमा आन्दोलनलाई अघि बढाएको हो।

















Discussion about this post