जनकपुरधाम/मंसिर ९ गते। जेन–जी अभियन्ता तथा कानुनका विद्यार्थी नइम राईनले समाजमा कुनै पनि व्यक्तिमाथि जात, धर्म, लिङ्ग, भाषा, वर्ग, क्षेत्र, समुदाय, अपाङ्गता वा अन्य कुनै पनि आधारमा विभेद हुन नहुने बताएका छन्। उनले प्रत्येक नागरिकको समान अधिकार, सम्मान, अवसर र निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन्।
खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेश प्रदेशको आयोजनामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भ अवसरमा बुधबार आयोजित प्रभातफेरी तथा र्यालीमा सहभागी हुँदै राईनले यस्तो धारणा राखेका हुन्।
“UNITE to End Violence Against Women and Girls: Ensure Justice, Protect Survivors, End Impunity” अर्थात् ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने मूल नाराका साथ सुरु भएको अभियान डिसेम्बर १० सम्म सञ्चालन हुनेछ।
राईनले लैङ्गिक समानता र समावेशिता केवल भाषण तथा नारामा सीमित हुन नहुने उल्लेख गर्दै समाजका महिला, पुरुष, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत तथा पछाडि पारिएका समुदाय सबैले समान अवसर र सम्मान पाउनुपर्ने बताए।
उनका अनुसार समावेशी समाज त्यतिबेला मात्र निर्माण हुन्छ, जब समाजको हरेक वर्ग र समुदायका व्यक्तिले आफ्नो पहिचान, विचार र अस्तित्वको सम्मान पाउँछन् तथा शिक्षा, स्वास्थ्य, रोजगारी, नेतृत्व र नीति निर्माणका प्रक्रियामा समान रूपमा सहभागी हुन पाउँछन्।
उनले महिला तथा बालिकामाथि हुने हिंसा, घरेलु हिंसा, यौन दुर्व्यवहार, सामाजिक विभेद र अन्यायको अन्त्यका लागि सबै नागरिक एकजुट हुनुपर्ने धारणा व्यक्त गरे। हिंसापीडितलाई दोषारोपण गर्ने नभई उनीहरूलाई संरक्षण, सम्मान, सुरक्षित वातावरण र न्यायको प्रत्याभूति गराउनु राज्य तथा समाजको साझा दायित्व भएको उनको भनाइ थियो।
राईनले समतामूलक, न्यायपूर्ण र विभेदमुक्त समाज निर्माणका लागि कुनै पनि व्यक्ति वा समुदाय पछाडि नछुट्ने गरी समान सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै लैङ्गिक हिंसाविरुद्धको अभियानलाई व्यवहारमा कार्यान्वयन गर्न सबै पक्षसँग आग्रह गरेका छन्।
उनको सन्देश स्पष्ट छ—पहिचान फरक हुन सक्छ, तर अधिकार, सम्मान र अवसरमा कोही पनि सानो वा ठूलो हुनुहुँदैन। सबैका लागि समानता, सबैको आवाजको सम्मान र सबैको सहभागिता नै समावेशी समाजको आधार हो।

















Discussion about this post