जनकपुरधाम/मंसिर ६ गते। मैथिली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले जनकपुरधाममा विद्यापति स्मृति पर्व–२०८३ मनाइएको छ ।
जनकपुरधामस्थित विद्यापति चोकको दुर्गा मन्दिर परिसरमा विद्यापति स्मृति पर्व समारोह समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सहभागी वक्ताहरूले महाकवि विद्यापतिको साहित्यिक योगदानको चर्चा गर्दै मैथिली भाषा, साहित्य तथा मिथिलाको मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा जोड दिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणसँगै सामाजिक सद्भाव कायम गर्न यस्ता सांस्कृतिक पर्वको महत्वपूर्ण भूमिका रहने बताए ।
उनले आफ्नो मौलिक पहिचानप्रति गर्व गर्दै भाषा र संस्कृतिलाई व्यवहारमै जीवन्त राख्नुपर्ने आवश्यकता औँल्याए । यस्ता कार्यक्रमले सामाजिक एकता र सांस्कृतिक सद्भाव बलियो बनाउनुका साथै नयाँ पुस्तामा आफ्नो मौलिक पहिचानप्रति चेतना अभिवृद्धि गर्ने उनको भनाइ थियो ।
विद्यापति स्मृति पर्व समारोह समितिका अध्यक्ष कौशल किशोर मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मैथिली भाषा, साहित्य तथा संस्कृतिको वर्तमान अवस्था, संरक्षण र पुस्तान्तरणका विषयमा समेत छलफल गरिएको थियो ।
महाकवि विद्यपतिको साहित्यिक योगदानलाई नयाँ पुस्तासम्म परिचित गराउने तथा मैथिली भाषा, साहित्य र मिथिलाको मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले पर्व आयोजना गरिएको आयोजकले जनाएको छ ।

















Discussion about this post