जनकपुरधाम/कार्तिक २७ गते। जनकपुरधामस्थित श्री जानकी आँखा अस्पतालको स्वास्थ्य सेवा, उपलब्ध सुविधाको अवस्था तथा सेवा विस्तारको सम्भावनाबारे मधेस प्रदेशका स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र प्रतिनिधिसभा सदस्य मनिष झाले अनुगमन गरेका छन्।
अनुगमनका क्रममा मन्त्री मेहता र सांसद झाले अस्पतालबाट प्रवाह हुँदै आएका स्वास्थ्य सेवा, उपलब्ध भौतिक पूर्वाधार तथा उपचार सुविधाको अवस्थाबारे जानकारी लिएका हुन्। उनीहरूले अस्पताल प्रशासनसँग छलफल गर्दै बिरामीले प्राप्त गर्दै आएका सेवा–सुविधा, सेवा प्रवाहमा देखिएका समस्या र थप सेवा विस्तारका सम्भावनाबारे जानकारी लिएका थिए।
छलफलका क्रममा अस्पतालमा उपचारका लागि आउने बिरामीलाई सहज, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा विशेष चासो व्यक्त गरिएको थियो।
मन्त्री मेहता र सांसद झाले अस्पतालको सेवा प्रवाहलाई थप व्यवस्थित र सर्वसुलभ बनाउन आवश्यक सुधार गर्नुपर्नेमा जोड दिएका थिए। साथै, अस्पतालमा आवश्यक स्वास्थ्य सेवा तथा उपचार सुविधाको विस्तार, भौतिक पूर्वाधारको सुधार र उपचार सेवाको गुणस्तर अभिवृद्धिका लागि आवश्यक पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।
आँखासम्बन्धी उपचार सेवाका लागि महत्वपूर्ण स्वास्थ्य संस्थाका रूपमा रहेको श्री जानकी आँखा अस्पतालको सेवा क्षमता अभिवृद्धि गर्न सम्बन्धित निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको विषयमा समेत छलफल भएको थियो।
अनुगमनका क्रममा नेपाल रेडक्रस सोसाइटी धनुषाका सभापति पंकज महतोको समेत सहभागिता रहेको थियो।

















Discussion about this post