काठमाडौं/असोज २० गते। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) मा राष्ट्रिय जनता नेपाल (राजपा नेपाल) समाहित भएको छ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत गर्दै थप राजनीतिक उपलब्धि हासिल गर्न आवश्यक रहेको निष्कर्षसहित राजपा नेपालले जसपा नेपालमा समाहित हुने निर्णय गरेको हो।
हरिनारायण यादव संयोजक रहेको राष्ट्रिय जनता नेपाल विधिवत् रूपमा जसपा नेपालमा समाहित भएको जसपा नेपालका महासचिव डा. सुरेन्द्र झाले जानकारी दिए।
महासचिव झाले अधिकार प्राप्तिका लागि भएका विभिन्न आन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै सङ्घीयता र पहिचान पक्षधर राजनीतिक शक्तिबीच एकता कायम गर्ने उद्देश्यअनुसार राजपा नेपाललाई जसपा नेपालमा समाहित गरिएको बताए।
उनका अनुसार समान राजनीतिक विचार, उद्देश्य र एजेन्डा बोकेका शक्तिहरूबीच एकता र सहकार्यलाई निरन्तरता दिँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई थप सुदृढ बनाउने दिशामा जसपा नेपाल अघि बढिरहेको छ।
राजपा नेपाल जसपा नेपालमा समाहित भएसँगै सङ्घीयता, पहिचान र अधिकारका मुद्दामा समान धारणा राख्ने राजनीतिक शक्तिबीच सहकार्य थप मजबुत हुने जसपा नेपालले जनाएको छ।















Discussion about this post