मुम्बई, २० असोज। अक्षय कुमार र साजिद खानको आगामी (शीर्षक नजुराइएको) कमेडी चलचित्रमा आर. माधवन, दिशा पटानी र श्रिया सरन पनि जोडिएका छन्।
एकता आर. कपुरद्वारा निर्माण गरिन लागेको यो चलचित्र पूर्ण रूपमा हास्य विधामा आधारित हुनेछ। यसमा कुमार, माधवन, पटानी तथा सरनको मुख्य अभिनय रहनेछ।
‘केसरी’ पछि माधवन र अक्षय पुनः एकसाथ देखिन लागेका हुन्। यसअघि उनीहरूले अदालतको पृष्ठभूमिमा आधारित चलचित्रमा प्रतिद्वन्द्वीको भूमिका निभाएका थिए भने यसपटक उनीहरू कमेडी विधामा सँगै देखिँदैछन्। उनीहरूको जोडी यस चलचित्रको मुख्य आकर्षणमध्ये एक हुने अपेक्षा गरिएको छ।
मुख्य रोमान्टिक भूमिकामा देखिने दिशा पटानी र श्रिया सरनको प्रवेशले पनि टोलीलाई उत्साह थपेको छ। यो चलचित्र अधबैंसे उमेरका पुरुषहरूको कथामा आधारित रहने र ‘कमेडी-अफ-एरर्स’ (भुलचुक वा गलत बुझाइबाट उत्पन्न हुने हाँस्य) शैलीमा अघि बढ्ने बताइएको छ। ठूलो बजेटमा निर्माण गर्ने योजना रहेको यस चलचित्रका लागि निर्माताहरूले विस्तृत छायाङ्कन तालिका तयार पारिरहेका छन्।
सन् २०२६ को अन्त्य वा २०२७ को सुरुतिर लन्डनबाट यसको छायाङ्कन सुरु हुने अपेक्षा छ। चलचित्रलाई भव्य रूपमा प्रस्तुत गर्ने तयारी भइरहेकाले लन्डनको छायाङ्कन तालिका निर्माण प्रक्रियाको एक महत्त्वपूर्ण हिस्सा बन्नेछ।
कनिष्क वर्माको ‘एलियन सर्भाइभल थ्रिलर’ चलचित्रको काम सकेपछि अक्षय कुमारले यस परियोजनामा काम सुरु गर्नेछन्। यो कमेडी चलचित्रको छायाङ्कन ‘वान-स्ट्रेच’ (सुरुदेखि अन्त्यसम्म निरन्तर) तालिकामा सम्पन्न गर्ने योजना बनाइएको छ।
यो चलचित्र अक्षय कुमार र साजिद खानबीचको अर्को सहकार्य हो। उनीहरूले यसअघि ‘हे बेबी’, ‘हाउसफुल’ र ‘हाउसफुल २’ मा सँगै काम गरिसकेका छन्। उनीहरूको पुनर्मिलन यस परियोजनाको मुख्य आधार भए तापनि आर. माधवन, दिशा पटानी र श्रिया सरनको आगमनले चलचित्रको कलाकार टोलीलाई अझ बलियो बनाएको छ।
यसैबीच, निर्देशक साजिद खानले यस चलचित्रको काम सुरु गर्नुअघि यशवर्धन आहुजा र नितान्शी गोयल अभिनित ‘हिरो की हिराेइन’ को छायाङ्कन पूरा गर्नेछन्। मुख्य कलाकारहरूको घोषणासँगै साजिद खानको यो आगामी कमेडी चलचित्रप्रति दर्शकको उत्सुकता बढेको छ।















Discussion about this post